काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘गणतन्त्रको प्रतीक’ नमुना मूर्ति (म्याकेट) सिर्जना प्रतिष्पर्धा र हिमालको रहस्य कला सिर्जना तथा प्रदर्शनी गर्ने भएको छ ।
प्रतियोगितात्मक रुपमा ‘गणतन्त्रको प्रतीक’ नमुना मूर्ति (म्याकेट) सिर्जना गर्न लागिएको हो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले उक्त मूर्ति सिर्जनामा प्रथम हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने बताउनुभयो ।
प्रतियोगिले नेपालको संविधान २०७२ अनुरुप नेपाललाई स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाका रुपमा चिनाउने गरी मूर्ति निर्माण गर्नुपर्ने छ ।
मुलुकको परिवर्तनका लागि भएका देशभक्तपूर्ण आन्दोलनहरु र संघर्षका विषयमा केन्द्रित भई गणतन्त्रको प्रतीक नमूना मूर्ति (म्याकेट) सिर्जना गर्न सार्वजनिक अनुसारोध गरिएको छ ।
मूर्तिको साइज एक फुट देखि १.५ फुटसम्मको हुनुपर्ने जनाइएको छ । खुला माध्याम राखिएको प्रतियोगिताका लागि आउँदो माघ २० गतेसम्ममा मूर्ति तयार पारी पेश गरिसक्नुपर्ने छ ।
पहिलो हुनेले एक लाख पुरस्कार पाउने छन् । दोस्रोलाई ७५ हजार, तेस्रोलाई ५० हजार र प्रोत्साहन पुरस्कार दुई जनाले २५÷२५ हजार पाउने प्रतिष्ठानले जनाएको छ ।
‘हिमालयको रहस्य’ कला सिर्जना
यसैबीच हिमालयको रहस्य चित्र सिर्जनाका लागि पनि सार्वजनिक आह्वान गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले माघ ५ गतेसम्ममा चित्र बुझाइसक्नुपर्ने समय तोकिएको बताउनुभयो ।
उहाँले चित्रको साईज भने ३ फुटदेखि २४ फुटसम्मको हुनुपर्ने गरी तोकिएको जानकारी दिनुभयो ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको प्रभाव, चुनौती र समस्या तथा त्यसको न्युनिकरणका लागि कलामार्फत सचेतना फैलाउन उक्त चित्रकला सिर्जना गरी प्रदर्शनी गर्न लागिएको हो ।