काठमाडौँ : विगत लामो समयदेखि पोल्ट्री क्षेत्रको विकास र प्रवद्र्धनका लागि पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै राससमा कार्यरत चितवनका पत्रकार नारायण अधिकारी र नारायण ढुङ्गानालाई काठमाडौँमा सम्मान गरिएको छ ।
नेपाल ह्याचरी उद्योग संघलेको शुक्रबार सम्पन्न १७औँ साधारणसभा तथा अधिवेशनका क्रममा उहाँहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले उहाँहरुलाई कदरपत्रसहित सम्मान प्रदान गर्नुभयो ।
पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारी रासस चितवनका प्रमुख हुनुहुन्छ भने ढुङ्गाना काठमाडौँबाट राससमा रिपोटिङ गर्दै आउनुभएको छ । उहाँहरु विगत दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएको छ । सो क्रममा अर्का पत्रकार मधुसुदन गुरागाईंलाई पनि सम्मान गरिएको थियो ।
सो क्रममा पोल्ट्री जन्य उत्पादनमा अब्बब अविनास ह्याचरी तथा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सचिव पौडेलले मन्त्रालय यस क्षेत्रमा रहेका ऐन, कानुन, नीति, नियम तथा निर्देशिका परिमार्जनका लागि अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँले पोल्ट्री क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको र त्यसका लागि आवश्यक समन्वयको खाँचो औँल्याउनुभयो । उहाँले आपसी छलफल गरेर अघि बढ्दा समाधान नहुने समस्या नरहेको दावी पनि गर्नुभयो ।
मन्त्रालयका सहसचिव सूर्य पौडेलले बाहिर कुरा गर्न भन्दा सँगै बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालका कुखुरा व्यवसायीहरुमा उत्पादन लागत बढ्दा समस्या रहेको बताउँदै समस्या समाधानका लागि राज्य तयार रहेको बताउनुभयो । उहाँले ह्याचरी उद्योग घट्नु दुखद भएको बताउनुभयो ।
नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलले नेपालमा कुखुरा व्यवसाय विगत ४ वर्षदेखि ओरालो लाग्दै आएकोमा दुख व्यक्त गर्नुभयो ।
उहाँले १६० अर्ब लगानी रहेको र गार्हस्थ उत्पादनमा ३।५ प्रतिशत योगदान पुर्याएको पोल्ट्री क्षेत्रमा ५ लाख रोजगारी सिर्जना भएको बताउनुभयो । उहाँले अहिले यस क्षेत्र प्रभावित भएको र ३४४ सदस्य रहेको ह्याचरी उद्योगमा घटेर १२१ मा झर्नु दुखद पक्ष भएको बताउनुभयो । उहाँले कुखुरा व्यवसायलाई धरासायी हुन नदिन सरकारसँग अनुरोध गर्नुभयो ।
सो क्रममा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द विष्टले पोल्ट्री क्षेत्रको विकास र समस्या समाधानमा सरकारले खास काम गर्न नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
उहाँले पोल्ट्री बोर्ड बनाउने कुरा ओझेलमा परेको उल्लेख गर्दै उहाँले त्यसका लागि बनेको निर्देशक समितिलाई क्रियाशिल बनाउन सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष ज्ञानबहादुर विसुराल, नेपाल कुखुरा व्यवासायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुरा व्यवसायमा देखिएका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।