काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबीच यसपटक ऐतिहासिक भेला सम्पन्न भएको छ ।
शुक्रबार भएको संयुक्ता प्राज्ञिक भेला पाँच बुँदे ‘काठमाडौँ प्रज्ञा घोषणा २०८०’ जारी गरी सम्पन्न भएको छ ।
यती प्रभावकारी तवरले यस प्रकारको भेला कला, साहित्य, संगित र नाट्य क्षेत्रमा यसअघि नभएको कला क्षेत्रका जानकारहरुले बताएका छन् ।
काठमाडौँमा शुक्रबार भएको उक्त भेलाले साउन १३ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा पोखरामा सम्पन्न भएको प्रज्ञा भेलामा जारी भएको १० बुँदे घोषणापत्रलाई निरन्तरता दिँदै सो घोषणापत्रमा उल्लेख भएका विषयहरूलाई लागू गर्न पहल गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश तथा पालिकास्तरका सांस्कृतिक संरचनामा भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकला, विज्ञान तथा प्रविधि विधालाई पनि अनिवार्य रूपमा समावेश गर्ने व्यवस्था मिलाउन पहल गर्ने, प्रदेश र पालिकास्तरका सांस्कृतिक संरचनाहरूको संरचनागत एकरूपता कायम गरी एकै प्रकारको कानुनी व्यवस्थासमेत कायम गर्नका लागि ऐनको मस्यौदा तयार पारी दुई महिनाभित्र तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिसमक्ष मस्यौदा पेस गर्ने निर्णय पनि गरेको छ ।
कानुनको मस्यौदा निर्माण गर्दा प्रदेशस्तरका प्रज्ञा–प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र प्राज्ञसदस्य रहने र पालिकास्तरका संरचनामा अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव र सदस्य रहेको पदीय संरचना हुने गरी व्यवस्था गरिने भएको छ ।
भेलाले मस्यौदा तयार भएपछि सङ्घीयस्तरका तीनवटै प्रज्ञा–प्रतिष्ठानको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहल गरी कानुनी एकरूपताका लागि मस्यौदालाई प्रदेश र स्थानीयस्तरमा पठाउनका लागि पहल गर्ने निर्णय पनि गरेको छ।
भेलामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपतिहरु लालकाजी लामा, विमलकृष्ण श्रेष्ठ, शम्भु राई, सदस्य सचिवत्रय देवेन्द्र कुमार काफ्ले थुम्केली, डा.धनप्रसाद सुवेदी र कुश्मा महरा ‘प्रगति’ लगायतको सहभागिता थियो ।
सङ्घ, प्रदेश तथा स्थानीय तहका भाषा, साहित्य, सङ्गीत, ललितकला, संस्कृति, नाट्यसँग सम्बन्धित प्रज्ञा–प्रतिष्ठान÷परिषद्÷समितिहरूको प्राज्ञिक भेलाको तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।