काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) र सिद्धार्थ फाउन्डेसनबिच ‘काठमाडौँ ट्रिनाले’ सञ्चालनसम्बन्धी समझदारी–पत्रमा बुधवार (२०८० पुस ११ गते) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
समझदारी पत्रमा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनका तर्फबाट निर्देशक संगीता थापाले हस्ताक्षर गर्नुभयो । नेपाली कलालाई विश्वसामु चिनाउने, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूबीच कलासम्बन्धी विचारको आदान–प्रदान गर्ने/गराउने र कलामार्फत पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कला महोत्सवका रूपमा आयोजना हुँदै आएको ‘काठमाडौँ ट्रिएनाले’लाई अझ फरक रूपमा अघि बढाउनका लागि प्रतिष्ठान र फाउन्डेसनले सहकार्य गरेका हुन् । यससँगै ‘काठमाडौँ ट्रिनाले’ अब प्रतिष्ठान र फाउन्डेसनको संयुक्त कार्यक्रम हुने छ ।
काठमाडौँ ट्रिनालेका संस्थापकका रूपमा सिद्घार्थ आर्ट्स फाउन्डेसनका निर्देशक संगीता थापाको योगदानलाई निरन्तरता दिने गरी आगामी दिनमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्टस् फाउन्डेसनको संयुक्त आयोजनामा कला महोत्सवका रूपमा ‘काठमाडौँ ट्रिनाले २०८२’ को संस्करण र त्यसपछि हुने विभिन्न संस्करणहरू संयुक्त रूपमा आयोजना गर्ने सम्बन्धमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्टस् फाउन्डेसनबीच सम्झौता भएको हो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले भन्नुभयो, ‘प्रतिष्ठानसँग सहकार्य गर्न उहाँहरूले हार्दिक सद्भाव लिएर उत्सुकता देखाउनुभयो, हामीलाई पनि यो आवश्यकता थियो ।’
उहाँले नेपाली कलाका क्षेत्रमा ऐतिहासिक रूपमा काम गर्न पनि आफूहरूले यस कार्यक्रममा सहकार्य गरेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो पहिचान, पहुँच र पहलका लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले, नेपाली कलालाई विश्वस्रतमा पुर्याउने लक्ष्य राखेर प्रतिष्ठानले काठमाडौं ट्रिनाले गर्न लागिएको बताउनुभयो । उहाँले नेपाली कलालाई जनस्तरसम्म पुर्याउने गरी काम अगाडि बढाउने जानकारी दिनुभयो ।
सिद्धार्थ आर्ट फाउन्डेसनका निर्देशक संगीता थापाले भन्नुभयो, ‘आगामी ‘काठमाडौँ ट्रिनाले’मा प्रतिष्ठानसँग मिलेर काम गर्न पाउँदा एकदमै खुसी छु । हामी ट्रिनालेलाई सफलतापूर्वक सम्पन्न गर्न काम गर्छौँ ।’ उहाँले नेपाली कला इतिहासको आगामी बाटो तय गर्ने युवापुस्ताले नै ‘काठमाडौँ ट्रिनाले’लाई अघि बढाउने छ भन्ने आफ्नो विश्वास रहेको धारणा राख्नुभयो ।
ट्रिनालेलाई आगामी दिनमा राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय कार्यक्रमका रूपमा स्थापित गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय कला केन्द्रका रूपमा स्थापित गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सघसंस्थाहरूसँग सहकार्य गरी नेपाली कला, संस्कृति र पर्यटन प्रवर्धन गर्ने, नेपाली कलालाई विश्वव्यापी बनाउने तथा अन्तर्राष्ट्रिय कलाजगत्सँग सद्भावना सेतुका रूपमा विस्तार गर्ने, सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन दिने लगायतका उद्देश्य राखिएको छ ।
समझदारी पत्रमा उल्लेख गरिएअनुसार ट्रिनालेको प्रत्येक संस्करणमा नेपाली कलाको इतिहास र अग्रज नेपाली कलाकारहरूको योगदान झल्किने विशेष प्रदर्शनीको आयोजना गरिने छ । नेपालका विभिन्न कला क्याम्प एवम् कला संस्थाहरूसँगको सहयोग, समन्वय र साझेदारीमा विद्यार्थी ट्रिएनालेको समेत आयोजना गरिने छ ।
काठमाडौँ ट्रिएनालेको मुख्य कार्यक्रम काठमाडौँमा गरिने छ र काठमाडौँबाहिर (नेपालभर) का अन्य स्थानमा स्याटेलाइट इभेन्टका रूपमा कार्यक्रम सञ्चालन गरिने छ ।
विभिन्न सङ्घ–संस्था र निकायहरूसँग समन्वय गरी कार्यक्रममा ललितकलाबाहेक अन्य विधाका कार्यक्रमहरूलाई पनि समावेश गर्न पहल गरिने छ ।
कार्यक्रममा सहप्राध्यापक सुजन चित्रकारले ‘काठमाडौँ ट्रिनाले’को विगतदेखि वर्तमानसम्मका विविध पक्षको चर्चा गर्दै प्रतिष्ठानसँग सहकार्य गरेर आगामी दिनमा कार्यक्रम गर्दा त्यसले नेपाली कलाको क्षेत्रमा पार्ने सकारात्मक प्रभाव र चुनौतीलगायतका विषयमा चर्चा गर्नुभयो । उहाँले मोफसलमा रहेका कलालाई पनि अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने र नेपालाको माटो सुहाउँदो कलाको मोडललाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सबैलाई समेटेर सामूहिक काम गर्ने प्रयासको थालनी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गौरवपूर्ण ट्रियनालेलाई अझ गौरवपूर्ण बनाउनको लागि तथा कला उत्सवलाई अझ महत्वपूर्ण बनाउनका लागि र सबैको स्वीकार्यता, सौहार्दता बोध गराउने उद्देश्यले यस कार्यक्रमलाई अघि बढाएका हौँ ।’