चितवन । चितवनको सौराहामा पर्यटक डुलाउनका लागि उपयुक्त मानिने बाघमारा मध्यवर्ती सामुदायिक वनले दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको छ।
आज सम्पन्न वनको १९औँ साधारणमा आव २०७९/८० मा वनले उक्त आम्दानी गरेको जानकारी गराइएको थियो । यसपटको आम्दानीबाट गत वर्षको ऋण समेत चुक्ता गर्न वन सफल भएको छ ।
उक्त सामुदायिक वनका अध्यक्ष जीतु तामाङले वनले आम्दानीको रकम वन संरक्षण र उपभोक्ता हित तथा गरिबी निवारणमा खर्च गरेको जानकारी दिनुभयो ।
प्राप्त विवरण अनुसार वनले हात्ती सफारीबाट ३९ लाख १० हजार, डुंगा सयरबाट १ करोड २६ लाख, नेपाली प्रवेशबाट २५ लाख १२ हजार, सरसफाईबाट ६ लाख ३९ हजार, मचानबाट १ लाख २४ हजार आम्दानी गरेको हो ।
सामुदायिक वनले वन व्यवस्थापन, सामुदायिक विकास, संरक्षण शिक्षा कार्यक्रम, आयआर्जन तथा विपन्नलाई सहयोग लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
वन जोगाउन योगदान गर्ने सम्मानित
वनले उक्त वनलाई माफियाबाट जोगाउन योगदान गर्ने २१ जनालाई सम्मान गरेको छ ।
वनले भूवनेश्वर चौधरी, शिवप्रसाद आचार्य ,विश्वनाथ पौडेल, स्व कान्छा लोप्चन, स्व ठगुवा महतो, रामकृष्ण महतो, सोमला राउत, स्व जनुवा राउत, स्व छनुवा राउत, झगरु महतो, स्व कानुन महतो, शंकर महतो, पाण्डु महतो, विष्णुप्रसाद अर्याल, प्रकाश ढकाल, गिरीधारी चौधरी, ढुण्डीराज सिलवाल, रामु रिजाल, रामकाजी अधिकारी, रुकमिणी रिमाललाई सम्मान गरेको हो।
त्यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रेञ्जर ऋषिराम सुवेदीसहितका संरक्षणकर्मी र कर्मचारीलाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा वनका अध्यक्ष जीतु तामाङले भावी कार्ययोजना तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष आशमान लामाले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।