काठमाडौँ । काठमाडौँका बसपार्क क्षेत्रमा रहेका केही होटलहरुमा बालिकालाई जबरजस्ती वेश्यावृत्ति तथा यौनजन्य कार्यमा संलग्न गराउने गरेको घटना हुन थालेपछि प्रहरीले निगरानी थालेको छ ।
एजेन्टसमेत परिचालन गरी बालिकालाई वेटरमा लगाइदिने लोभमा पारेर जबरजस्ती यौनजन्य कार्यमा लगाएको पाइएपछि प्रहरीले बालिकाको उद्धार र त्यस्तो अपराधमा संलग्न व्यक्तिहरुको खोजतलास तीव्र पारेको हो ।
प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार उक्त खोजतलासका क्रममा आजसम्म चार बालिकाको उद्धार गरिएको छ । उनीहरुलाई संरक्षण केन्द्रमा राखिएको ब्यूरोले जनाएको छ।
गिरोहले विपन्नपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटल/गेष्ट हाउसमा वेटर तथा सरसफाईको काममा लगाई दिने नी लोभमा पारेर वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ ।
ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले त्यसरी बालिकालाई यौनजन्य कार्यमा संलग्न गराउने एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुले पीडित बालिकालाई विगत ५ महिनादेखि होटल÷गेष्ट हाउसहरुबाट बाहिरसमेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको तथा पीडित बालिकाको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ।
पंगेनीले त्यस्ता विकृति हुन सक्ने सम्भावित स्थानहरुमा विशेष टोली नै परिचालन गरी सूचना संकलन र निगरानी गरिरहेको छ । गिरोहले अन्य होटलहरुमा समेत बालिकालाई लगेर यस्ता गतिविधिमा संलग्न गराउने गरेको पाइएकाले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीले अहिलेसम्म उक्त कार्यमा संलग्न रहेको आरोपमा नुवाकोट घर भई टोखा बस्ने सुमन तामाङलाई पक्राउ गरिएको र अन्य गिरोहका खोजी जारी रहेको जनाएको छ।
पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ । उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको छ ।
बालिकाहरुलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएबापत ग्राहकहरुबाट प्रतिव्यक्ति रु ५ देखि ७ हजारसम्म लिने गरेको खुल्न आएको छ । बालिकाहरुलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाई रेट निर्धारण गरी यौनजन्य कार्य गराउने गरेको समेत खुलेको छ ।
होटल÷गेष्ट हाउसहरुमा ग्राहक ल्याउनका लागि एजेन्टसमेत नियुक्त गरिएको र त्यसरी ल्यायबापत एजेन्टले प्रतिव्यक्ति रु २०० देखि एक हजार कमिसन खाने गरेको पनि पाइएको छ ।