काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको सौराहामा ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आयोजना गर्न लागिएको छ ।
आयोजकले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने जानकारी गराएको छ ।
क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा हुने १७औँ संस्करणको महोत्सव यसपटक पृथक रुपमा आयोजना गर्न लागिएको छ ।
यस पटकको महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता नहुने सो क्रममा जानकारी गराइएको थियो ।
सङ्घका अनुसार यसपटक हात्ती सुन्दरी प्रतियोगिता खास हुने छ । हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको आयोजक क्षेत्रीय होटल संघ चितवनका कोषाध्यक्ष माधव दुवाडीले बताउनुभयो ।
महोत्सव सकिएलगत्तै क्षेत्रीय होटल सङ्घले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा पुस १५ गते विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको दुवाडीले जानकारी दिनुभयो ।
भरतपुर महानगरले सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रुपमा घोषणा गरिएको छ । हात्ती महोत्सवले सो भ्रमण वर्षको प्रचारप्रसारमा पनि योगदान पुर्याउने जनाइएको छ ।
कोषाध्यक्ष दुवाडीका अनुसार सौराहा क्षेत्रमा अहिले पाँच हजार पाहुना व्यवस्थापन गर्ने होटल रहेका छन् । महोत्सवमा दैनिक २० हजार हाराहारीको सहभागिता हुने आयोजकको अनुमान छ । महोत्सवका लागि एक करोड आठ लाख खर्च हुने जनाइएको छ ।
पर्यटन व्यवसायी केशव पाण्डेले सौराहाको हात्ती महोत्सव चितवनकै शान रहेको बताउनुभयो । उहाँले महोत्सव विगतदेखि आयोजना हुँदै आउँदाको अनुभव हेर्दा यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको र समग्र चितवन नै पर्यटकीय नगरीका रुपमा विकास हुँदै गएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा कसले के भने
पत्रकार सम्मेलनमा हानका केन्द्रीय अध्यक्ष विनायक शाहले कोभिडपछि लयमा फर्किरहेको मुलुकको पर्यटनलाई थप गतिशील बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अहिले ३५ लाख पर्यटकलाई सेवा दिने पूर्वाधार बनेको र पर्यटन पूर्वाधारमा खर्बौं लगानी भइसकेकाले ती पूर्वाधारबाट प्रतिफल लिनेगरी रणनीतिक प्रवद्र्धनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गर्नुभयो ।
उहाँले ‘वाइल्ड लाइफ’ सफारीका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने भएकाले चितवनमा हात्तीसम्बन्धी गतिविधि हुने गरेको भन्दै हात्तीको संरक्षण र अधिकारको विषयमा सजक रहेर गतिविधि सञ्चालन हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “वाइल्ड लाइफ टुरिज्म’को मागअनुसार सेवा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि गर्दै आएको हो, हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक पुग्ने गरेका छन् ।”
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गर्नुभयो । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स (नारा)का अध्यक्ष शिव अधिकारीले पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
महोत्सवबाट अन्तरराष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवद्र्धन हुने आयोजकको विश्वास छ । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने व्यवसायीको बुझाइ छ ।