काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सिआरभी पट्रोल ट्रयाकिङ प्रणाली (सिपिटिएस)लाई प्रभावकारी बनाउन कन्ट्रोल रुम भेहिकल (सिआरभी) मा आज ‘लोकोमो डिभाइस’ जडान गरिएको छ।
कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई सेन्टिनल ल्यावका संस्थापक अध्यक्ष प्रणव बुढाथोकी र लोकोमोका ब्राण्ड एम्बेस्डर सुरज सिंह ठकुरीले उक्त डिभाइस हस्तान्तरणपछि आजै जडान गरिएको हो ।
कार्यालयको कन्ट्रोल रुम भेहिकल (सिआरभी)मा जडित उक्त डिभाइसबाट सिआरभी भ्यानको रियल टाइम लोकेसन पहिचान गरी विशिष्ट व्यक्तिहरूको सवारीको सुरक्षा, सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धान कार्य प्रभावकारी हुने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसका साथै विपद उद्दार तथा खोजी कार्य, आकस्मिक उद्वारलगायतका प्रहरी कार्यमा उक्त डिभाइसमार्फत प्रभावकारी प्रहरी परिचालन गर्नुका साथै प्रहरीको सिआरभी भ्यान र प्रहरी नियन्त्रण कक्षको समन्वयमा सहज बनाउन थप प्रभावकारी हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले साक्षीले सत्य नबक्न पनि सक्दछ तर प्रविधिले सदैव सत्य नै उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने बताउनुभयो ।
उहाँले आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा प्रहरी कार्यलाई समेत थप प्रविधियुक्त बनाई समग्रमा सुरक्षा प्रदान गर्न यसले उपत्यका प्रहरीको सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धताको अभियानलाई सहयोग पुग्ने बताउनुभयो ।