काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठमा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउन चित्रकला प्रदर्शनी गरिएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीमा ४९ कलाकारका सिर्जना समावेश थियो।
घर छिमेकमा हुने यस्ता घटना रोक्न लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र सकारात्मक भाव झल्किने खालका चित्र समावेश गरेर प्रदर्शन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी उपप्रमुख अनिता लामाले पालिकाले यस्ता रचनात्मक कायमलाई जोड दिएको र समाज सचेतनाका लागि थप कार्य गर्दै जाने बताउनुभयो ।
नगरपालिकाका प्रशासकीय अधिकृत केदारकुमार खड्काका अनुसार हरेक क्षेत्रले कुनै न कुनै माध्यामबाट हिंसाविरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिँदै नगरपालिकाले पनि सोही अनुसार कला प्रदर्शनी आयोजना गरेको बताउनुभयो ।
हरेक क्षेत्रबाट यसैगरी हिंसाविरुद्ध सचेतना फैलाउने हो भने घटना न्यूनीकरणमा सहयोग पुग्ने कलाकार दिपेन्द्रमान बनेपालीले बताउनुभयो ।
उहाँले ४९ जना कलाकारले चित्रमार्फत हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै सचेतना फैलाउन योगदान गर्नुभएको जानकारी गराउनुभयो ।
कलाकार दिपेन्द्रमान बनेपाली र सुमित्रा श्रेष्ठले कला प्रदर्शनीको संयोजन गर्नुभएको थियो । नगर प्रमुख मिठाराम अधिकारीले सहभागी कलाकारलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नेपालमा पछिल्लो समयमा लैङ्गिक हिंसाका घटना बढिरहेका छन् । हिंसाका घटना प्राय आफन्त र चिनेजानेका व्यक्तिबाटै बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
अझ कम उमेरका बालबालिका यसको सिकार भइरहेका छन् ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार कुल लैङ्गिक हिंसामध्ये ८९ प्रतिशत चिनाजानका मानिसबाट भएको छ भने समग्रमा ८० प्रतिशत घटना घरेलु हिंसाका रहेको उल्लेख छ ।