काठमाडौँ : समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ ।
जहाँ शिक्षित हुने सपना पूरा गर्दै हुनुहुन्छ, ७१ वर्षीया इन्द्रमाया आलेमगर । बुढेसकालमा झोला भरी पुस्तक, कापी र कलम बोकेर दिनहुँ विद्यालय पुग्नु उहाँको दैनिकी बनेको छ । कक्षा ११ मा पढ्दै गर्नुभएकी इन्द्रमाया यस विद्यालयमा कक्षा १ देखि नै अध्ययनरत हुनुहुन्छ ।
विद्यालय तेह्र वर्षभन्दा माथि उमेर समूहका महिलालाई लक्षित गरी स्थापना भएको हो । विद्यालयकी प्रधानाध्यापक प्रभा चालिसेका नजरमा इन्द्रमाया मेहनती र लगनशील हुनुहुन्छ ।
“यो उमेरमा पनि पढाइप्रतिको उहाँको लगाव लोभलाग्दो छ । एकदमै मेहनती र लगनशील पनि हुनुहुन्छ, सबै विषयमा प्रायः विशिष्ट श्रेणी ल्याउनुहुन्छ । कति पटक त उहाँलाई कक्षा ‘जम्प’ गराएका छौँ”, चालिसेले भन्नुभयो । इन्द्रमायालाई विद्यार्थी, शिक्षक र कर्मचारी सबैले आदरले आमा भनि सम्बोधन गर्छन् ।
इन्द्रमायाले पढ्ने र शिक्षित हुने धोको सानैदेखि कै भए पनि विभिन्न कारणले पढ्न नपाएको सुनाउनुभयो । शिक्षित हुँदा समाजमा सम्मानित भएर बाँच्न पाइने लोभमा कक्षा १ मा विद्यालयमा भर्ना भएको उहाँको भनाइ छ । विद्यालयमा रोल्पाकी कुमारी महराले पढ्ने रहर पूरा गरिरहनुभएको छ । तत्कालीन द्वन्द्वको समयमा पढाइबीचमै छाड्नुभएकी उहाँले यतिबेला यस विद्यालयमार्फत पढाइ अगाडि बढाउनुभएको छ ।
“द्वन्द्व सकिँदासम्म पढ्ने उमेर घर्किसकेको थियो, आफूभन्दा सानासँग बसेर पढ्न मन लागेन”, उहाँले भन्नुभयो, “त्यो बेला छाडेको पढाइले यो विद्यालयका कारण अहिले निरन्तरता पाएको छ ।”
विद्यालयकी प्रधानाध्यापक चालिसेका शब्दमा कुमारी पढ्नमा जेहेन्दार हुनुहुन्थ्यो । उहाँले एसइई प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि अहिले पद्मकन्या क्याम्पसबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तरको पढाइ पूरा गरिसक्नुभएको छ ।
कुमारी अहिले मानवअधिकार आयोगमा अधिकृत पदमा जागिरे हुनुहुन्छ । इन्द्रमाया र कुमारीले जस्तै शिक्षित बन्ने सपना पछ्याउँदै विद्यालयमा आउने महिलाको सङ्ख्या ठूलो रहेको प्रधानाध्यापक चालिसेको भनाइ छ ।
काठमाडौँ तीनकुनेस्थित उत्प्रेरणा महिला माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा मैनालीले विद्यालयमा आउने महिलामा पढाइप्रतिको लगाव निकै ठूलो देखिने गरेको बताउनुभयो । “भर्ना हुन आउने धेरै महिलामा कुनै इखले काम गरेजस्तो लाग्छ ।
कसैलाई पढाइ छुटेको पीडा छ त कसैलाई छोराछोरीले लगाएको बचनले काम गरेजस्तो लाग्छ”, उहाँले भन्नुभयो, “महिला साक्षर होइन कि शिक्षित बन्नुपर्छ भन्ने भावनाका साथ हामी अगाडि बढिरहेका छौँ ।”
गठ्ठाघरस्थित आस्था महिला विद्यालयकी संस्थापक प्रधानाध्यापक पार्वती ज्ञवालीले ‘अधुरो शिक्षा पुरा गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ ओझेलमा परेका महिलालाई शिक्षाको मूलधारमा ल्याउने प्रयास जारी रहेको बताउनुभयो ।