काठमाडौँ । काठमाडौँको सम्पदा क्षेत्र कलामय बनेको छ । आइतबार बसन्तपुरमा कलाकारले कोण कोणबाट कला सिर्जना गरे उनीहरुलाई यहाँका संरचनाले लोभ्यायो ।
बेलायत, म्यानमार, थाइल्याण्ड, बंगलादेश, भारत, अष्ट्रियालगायत देशबाट आएका कलाकार दिनभर यहाँ बसेर कला सिर्जना गरे ।
भारतका कलाकार अमित कपुर र अमलेस मजुम्दारलाई यो क्षेत्रले निक्कै लोभ्याउने गरेको छ । उहाँहरु पनि कला सिर्जनामा रमाउनुभयो ।
पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा दोस्रो दिन कलाकारहरु काठमाडौँको दरबार स्क्वायरमा पुग्नुभएको हो ।
बंगलादेशकी फारिसा महमदलाई पनि बसन्तपुर औधी मन पर्यो । उहाँले पनि जलरङबाट क्यान्भास रंग्याउनुभयो ।
अन्तराष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा भएको कार्यक्रम अन्तरगत आज स्वयम्भूमा कला सिर्जना भइरहेको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक एनबी गुरुङले बताउनुभयो ।
शनिबार काठमाडौँको बबरमहलमा कुल ३९ देशका ३४३ कलाकृतिहरु प्रदर्शनी शुरु गरेर महोत्सवको थालनी गरिएको थियो । प्रदर्शनी जारी छ ।
कलाकारहरु भने सम्पदा क्षेत्रमा गएर कला सिर्जना गरिरहेका छन् । कला महोत्सव यही २० गतेसम्म चल्ने छ ।