काठमाडौँ । नेपालमा केही वर्ष अघि जलरङको महत्व निक्कै कमजोर भएर महसुस गरिएको थियो । अन्य माध्याममा कलाकारहरु सक्रिय हुँदा जलरङकै अस्तित्व जोगाउन नसकिने हो की भनेर प्रश्न उठाइएको थियो । महत्वपूर्ण माध्याम मानिए पनि जलरङको प्रयोग निक्कै कम हुने गरेको छ ।
जलरङ आफैँमा ललितकलाको महत्वपूर्ण र संवेदनशिल माध्याम हो । शुरुमा सिकाइ जलरङबाटै हुने गर्छ । तर विस्तारै अन्य माध्याममा फड्को मारेपछि कलाकारहरुले जलरङलाई भुल्ने गरेका तथ्य छन् ।
पानीलाई घोलको रुपमा मिसाएर चित्र बनाइने विधि हो जलरङ । कलाकारले लामो अभ्यास र दक्षतापछि मात्र यस रङको मर्मलाई आत्मसाथ गर्न सक्छन् ।
पारदर्शी अथवा चित्रसतहको स्पर्शभावसहित यसबाट विषयवस्तु उतारिन्छ । माध्यमका दृष्टिले पानीरङमा पारदर्शिता, सरलता, रङप्रवाह÷गतिशीलता र ताजापन हुन्छ ।
जलरङका चित्र बनाउन कलाकारमा धैर्यता, दक्षता तथा यसका विशेषताप्रति ज्ञान हुनुपर्दछ । यो अन्य माध्यमका दृष्टिले अलि चुनौतीपूर्ण गाह्रो माध्यम पनि हो ।
यसरी कला क्षेत्रमा महत्व भएर पनि हराउँदै गएको जलरङलाई नेपालमा बनेको कलाकारहरुको एउटा समूह, जसले जलरङलाई छुट्टै पहिचान दिन सफल भएको छ ।
कलाकारहरु संगठित भएरै जलरङलाई संरक्षणमा सक्रिय छन् । अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपाल गठन गरेर कलाकारको समूहले नेपामलमा जलरङ (वाटरकलर)को महत्व बढाइदिएका छन् । त्यसको नेतृत्व कलाकार एनबी गुरुङले गर्नुभएको छ।
उहाँको नेतृत्वमा मुख्य पद नै लिएर १५ जना कलाकार त्यसैमा सक्रिय छन् भने नेपालमा जलरङलाई नै केन्द्रविन्दुमा राखेर ठूलाठूला कला महोत्सव, कार्यशालाहरु भइरहेका छन् ।
समाजमा अध्यक्ष गुरुङसहित वरिष्ठ उपाध्यक्ष दिराम पाल्पाली, उपाध्यक्ष लालकाजी लामा (हाल नाफाका उपकुलपति), महासचिव दिपेन्द्रमान बनेपाली, कोषाध्यक्ष भीम श्रेष्ठ, सचिव केशवराज खनाल, सदस्यहरु विनोदकुमार गुप्ता, डिबी राई, सुरेश स्याङ्तान, डि बराल रहेका छन् ।
प्रदेश प्रमुखहरुमा कोसीबाट महेन्द्र राई, गण्डकीबाट मनोज तामाङ, मधेशप्रदेशबाट मुकेश महत्तो, लुम्बिनीबाट सुमित्रा रानार, बागमतीबाट प्रकाश थापा (प्रथा) को सहभागिता छ । उहाँहरुसहित ३१ जनाको टिम आइडब्लुएसको रहेको छ ।
उक्त समूहले यसअघि पोखरा तथा घान्द्रुक र लुम्बिनीमा अन्तरराष्ट्रिय जलरङ महोत्सव सफलताका साथ सम्पन्न गरिसकेको छ । गएको वर्ष पोखरा आर्ट क्याम्प आयोजना गरेको थियो भने यसपाली तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव आयोजना गरिएको छ ।
भोलिदेखि २० गतेसम्म काठमाडौँ र आसपासका जिल्ला तथा सम्पदा क्षेत्रमा हुने उक्त महोत्सव अन्तरगत कला प्रदर्शनी, डेमोस्ट्रेसन र कला कार्यशाला समेत हुने छ । उक्त कार्यक्रममा ३९ देशका कलाकारका ३०० कलाकृतिहरु समावेश हुने छ भने विदेशी झण्डै ४० जना कलाकारसहित नेपालमा गरी २०० कलाकारहरुको जमघटसमेत हुँदैछ ।
कला क्षेत्रकै यो कार्यक्रम महाउत्सव हो । यस्ता कार्यक्रमले जलरङको महत्व बढाउनुका साथै आपसी भाइचार विकास संस्कृति आदानप्रदान, पर्यटन प्रवद्र्धन हुनुका साथै देशको पहिचान विश्वसामु पुग्ग्छ ।