चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा खाल्डोमा पारेर दुईवटा गैँडा मारेको आरोपमा प्रहरीले ८ जनालाई खागसहित पक्राउ गरेको छ।
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अनुसन्धानमा यसरी गैंडा मारेर खाग लानुमा निकुञ्जको सुरक्षा लापरबाही देखिएको पाइएको छ।
अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।
गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ। पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन् ।
गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ ।
निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।
निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।
उहाँका अनुसार आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिएको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, लेर्बटका ३३ वर्षीय रमेश खाती, राक्सिराङ गाउँपालिका–९ का ४४ वर्षका शम्शेर थिङ र मनहरि गाउँपलिका–६ नयाँवस्तीका ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङ छन् ।
उनीहरु घटनामा मुख्य नाइके भएको प्रहरीको दाबी छ । तीनै जनालाई प्रहरीले राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको थियो ।
चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षका पासाङ भनिने आइतेसिंह मोक्तान, थाकलटारका ४० वर्षीय उनबहादुर स्याङ्तान, मकवानपुरको मनहरि गाउँपालिका–७ ज्यामिरेका स्याङ्बो भनिने इन्द्रबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आइतेसिंह, उनबहादुर र इन्द्रबहादुर गैंडा मार्ने सिकारी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यस्तै रोल्पा सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल मकवानपुर हेटौंडा–५ बस्ने २८ बर्षका अर्जुन रोका र गोरखा वारपाक घर भई भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ पनि पक्राउ परेका छन् । दुबैले खाग बिक्री वितरण गर्न भूमिका खेलेका थिए ।
६ जनालाई मंसिर ९ गते पक्राउ गरिएको थियो भने उनबहादुर र इन्द्रबहादुर ११ गते पक्राउ परेको प्रहरीले जनाएको छ ।
गैंडा मारेको घटना थाहा भएको ११ दिनभित्रै उनीहरूलाई पक्राउ गर्नसक्नु सुखद पक्ष भएको निकुञ्ज विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुंगानाले बताउनुभयो ।
सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो ।
गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । नेपालमा सात सय ५२ गैँडा छन् ।