काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्नुहुने भएको छ।
यही मंसिर १६ गतेबाट शुरु हुन लागेको महोत्सवका लागि मन्त्री लिम्बु प्रमुख अतिथिका रुपमा सहभागी हुने निश्चित भएको कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिनुभयो ।
उक्त महोत्सवका लागि नेपालसहित ३९ देशका कलाकृतिहरु समावेश हुने र धेरै देश तथा काठमाडौँ बाहिरबाट कलाकारहरु समेत आउने भएपछि त्यसको व्यवस्थापनका लागि कलाकारले अन्तिम तयारीमा जुटिरहेका छन् ।
अन्तराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुने उक्त कार्यक्रमको तयारी करिबकरिब सकिने चरणमा रहेको महासचिव दिपेन्द्रमान बनेपालीले जानकारी दिनुभयो । उहाँले यसले विश्वमा नेपालको कला सँस्कृति प्रवद्र्धन गर्दै पर्यटन विकासमा सहयोग पुर्याउने बताउनुभयो ।
विदेशीसहित भण्डै २०० कलाकार कार्यक्रममा प्रत्यक्ष सहभागी हुने भएकाले होटल व्यवस्थापनलगायतको कामको तयारी पनि पुरा भएको छ ।
विश्वका ३९ देश सहभागी हुने र ३०० भन्दा बढी कला कृतिको प्रदर्शनीसँगै सयौँ कलाकारको सहभागितामा कला कार्यशाला र डेमोस्ट्रेसन हुने कार्यक्रम आफैँमा नेपालको ठूलो कार्यक्रम हो ।
उक्त कार्यक्रमले नेपालमा पर्यटकीय गतिविधि बढाउने र आर्थिक चलायमान गराउने विश्वास पनि गरिएको छ । त्यसमाथि संस्कृति प्रवद्र्धनमा यसले ठूलो योगदान पुर्याउने छ । यसलाई कलाको महाउत्सव अथवा अन्तराष्ट्रिय कला सम्मेलनका रुपमा हेरिएको छ। तेस्रो संस्करणमा आइपुग्दा यसले बृहत रुप लिएको छ ।
विगतको अनुभवबाट सिकेर थप परिस्किृत बनाइएको समाजले जनाएको छ । तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुनु नेपालकै लागि गौरवको कुरा हो ।
झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशाला हुने छ । उद्घाटनको दिन मङ्सिर १६ गते नेपाल कला परिषदमा विश्वभरबाट सहभागी भएका कला सिर्जनाको प्रदर्शनीका साथै मास्टर कलाकारबाट ‘लाइभ डेमोस्ट्रेसन’समेत हुने छ ।
त्यहाँ नेपाली कलाकारले विश्वको कला सिर्जनासम्बन्धी प्रविधि चिन्न र जान्न सक्नेछन्। महोत्सवअन्तरगत नगरकोटमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराएर कला सिर्जना गर्ने योजनासमेत रहेको छ । कलाकारलाई सम्मान तथा पुरस्कारसमेत हुनेछ ।
काठमाडौं दरबार स्क्वायर, ललितपुरको दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूलाई फोकस गरेरै कला सिर्जना हुने छ । धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले नेपालका प्रचारप्रसार हुने छ।
जसले पर्यटन विकासमा सहयोग पुर्याउने छ । यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ ।