काठमाडौँ । सरकारले भूकम्प पीडितलाई बैंक धाउन नपर्ने गरी स्वीकृत कर्याविधि संसोधन गरेको छ । उनीहरुले अब अस्थायी आसवको रकम हातमै प्राप्त गर्ने छन् ।
भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनेको कार्यविधिलाई केही संसोधन गरेर सरलीकृत गरिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनाइएको “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संसोधन गर्दै सरल बनाएको हो ।
पहिले लाभग्राहीका लागि अस्थायी आवास निर्माणको रकम बैंक खातामा पठाउनुपर्ने अनिवार्य व्यवस्थालाई संसोधन गरेर हातैमा दिन मिल्ने गरी कार्यविधि संसोधन गरिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले कात्तिक २६ गते उक्त कार्यविधि स्वीकृत गरेको थियो । तर हालैको बैठकले संसोधन गरेर सरलीकृत गरिएको उहाँले बताउनुभयो ।
खड्काले भन्नुभयो, “संशोधनले अस्थायी आवास निर्माण कार्यविधिलाई थप सरलीकृत गरी बैंकिङ्ग प्रणालीबाट हुन सक्ने विलम्बलाई घटाइ अनुदान रकम सरल र सुलभ तरिकाले लाभग्राहीहरुको हातमा पुग्ने र शीघ्र अस्थायी आवास निर्माण गर्ने कुरा सुनिश्चत गरेको छ । साथै स्थानीय तहलाई थप सुदृढ र जिम्मेवार बनाएको छ ।”
सो कार्यविधि कार्यान्वयनका क्रममा प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखसमेत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतबाट प्राप्त राय सुझावका आधारमा सो कार्यविधिमा संशोधान गरिएको पनि उहाँले बताउनुभयो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवन तथा संरचनाहरु स्थायीरुपमा तयार नहुँदासम्म अस्थायी संरचना तयार गरी पठन–पाठन, स्वास्थ्य सेवा, सरसफाइ तथा खानेपानी सेवाका साथै जनतालाई आवश्यक पर्ने सबै सार्वजनिक सेवाहरु सुचारु गर्ने÷गराउने सम्बन्धमा पनि आवश्यक निर्णय गरेकोछ ।
त्यस्तै राहत वितरण, पुनर्निर्माण र पुनस्थापनाका कार्यलाई प्रभावकारी बनाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न समयमा तर्जुमा भएका कानूनहरुमा भएका प्रावधानहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को व्यवस्थासँग एकरुपता हुने गरी आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको प्रवक्ता खड्काले बताउनुभयो ।