काठमाडौं । यतिबेला नेपालमा तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवको तयारी तीव्र भइरहेको छ। विश्व्का ३९ देश सहभागि हुने र ३०० भन्दा बढी कला कृतिको प्रदर्शनीसँगै सयौँ कलाकारको सहभागितामा कला कार्यशाला र डेमोस्ट्रेसन हुने कार्यक्रम आफैँमा नेपालका लागि नमूना हो ।
उक्त कार्यक्रमले नेपालमा पर्यटकीय गतिविधि बढाउने र आर्थिक चलायमान गराउने विश्वस पनि गरिएको छ । त्यसमाथि संस्कृति प्रवद्र्धनमा यसले ठूलो योगदान पुर्याउने छ ।
यसलाई कलाको महाउत्सव अथवा अन्तराष्ट्रिय कला सम्मेलनका रुपमा पनि बुझ्न सकिने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका सदस्य तथा महोत्सवको कलाकृति संकलन र व्यवस्थापनको जिम्मेवारी लिनुभएका विनोदकुमार गुप्ता बताउनुहुन्छ ।
उहाँले तेस्रो संस्करणमा आइपुग्दा यसले बृहत रुप लिएको र विगतको अनुभवबाट सिकेर थप परिस्किृत गराउँदै यसपटक कार्यक्रम हुने बताउनुभयो । उहाँले उक्त कार्यक्रम हरेक दृष्टिकोणले विगतको भन्दा भव्य हुने पनि जानकारी गराउनुभयो । यसले आपसी देश देशबीचको सम्बन्ध विस्तार गर्दै कलामार्फत पर्यटन विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
यही मंसिर १६ गतेदेखि हुने उक्त तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुँदैछन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस)का अनुसार मंसिर २० गतेसम्म हुने पाँच दिने महोत्सवमा ३९ देशका कलाकारका तीन सय बढी कलाकृति समावेश हुने पक्का भएको छ । धेरै कला कृति वास्तविक आउने र कतिपय प्रिन्टेड पनि हुनेछन् ।
कार्यक्रम संयोजक एबं समाजका अध्यक्ष एनवी गुरुङले अहिले कलाकारबाट कलाकृति आउनेक्रम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै क्याटलकको काम सकिएको बताउनुभयो ।
यति धेरै देशबाट कलाकृति सहभागी भएर कला प्रदर्शनका साथै कार्यशाला गर्न लागिएको कला क्षेत्रकै यो ठूलो कार्यक्रम भएको उनले बताए बताए ।
झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशाला हुने छ ।
उद्घाटनको दिन मङ्सिर १६ गते नेपाल कला परिषदमा विश्वभरबाट सहभागी भएका कला सिर्जनाको प्रदर्शनीका साथै मास्टर कलाकारबाट ‘लाइभ डेमोस्ट्रेसन’समेत हुने छ । त्यहाँ नेपाली कलाकारले विश्वको कला सिर्जनासम्बन्धी प्रविधि चिन्न र जान्न सक्नेछन्।
महोत्सवअन्तरगत नगरकोटमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराएर कला सिर्जना गर्ने योजनासमेत रहेको छ ।
कलाकारलाई सम्मान तथा पुरस्कारसमेत हुनेछ । काठमाडौं दरबार स्क्वायर, ललितपुरको दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूलाई फोकस गरेरै कला सिर्जना हुने छ ।
धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले नेपालका प्रचारप्रसार हुने छ । जसले पर्यटन विकासमा सहयोग पुर्याउने छ ।
यसपालि भारत, बङ्गलादेश, अष्ट्रिया, भियतनाम, म्यान्मार, थाइल्याण्डलगायत देशबाट कलाकार प्रत्यक्ष सहभागी हुने जानकारी आइसकेको र अन्य देशका कलाकार पनि सहभागी हुँदैछन् ।
यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ ।