काठमाडौँ । नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दा उठान गर्दैछ ।
अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानले निर्देशन गर्नुभएको यस चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताउनुभयो ।
शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुँदा चलचित्रका माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा अमेरिका, म्यानमार, भुटान र भारत गरी चार देशका चार जना नेपाली भाषी अभियन्ताहरु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुटान, म्यानमार, भारतसम्म पुगे र त्यहाँका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्ने बताइएको छ । फिल्म विशुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषाप्रति प्रेरित गर्ने फिल्म रहेको लेखक शिवम् अधिकारीले बताउनुभयो ।
‘यो मन त मेरो नेपाली हो’को छाँयांकन मंसिर ६ गतेबाट सुरु हुदैछ । यस फिल्मको पहिलो छायाँङ्कन पाँचथरबाट सुरु गरी झापा हुँदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिकालगाएतका देशहरुमा हुनेछ । यस फिल्ममा अध्ययन अनुसन्धान बढी गर्नुपर्ने भएको हुँदा निर्माणमा बढी समय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ । फिल्मको करिब ६० प्रतिशत छायांकनका लागि बुधबारदेखि टिम मुभ हुँदैछ ।
यस फिल्मको मुख्य पात्रहरु रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जित भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ ।
मित्र प्रधान (नर)को कथा तथा निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा दीपक शर्माको संगीत ,सौरब लामाको छायांकन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ ।
फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।