काठमाडौँ । ईटा उद्योगमा रहेका बालबालिकाको उत्थानशिलता विकास परियोजनाअन्र्तगत काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिकामा विगत ५ वर्षदेखि शिक्षा, स्वास्थ्य र जनचेतनामुलक कार्यक्रम भइरहेको छ ।
चन्द्रागिरि नगरपालिकाले ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५’ को लक्ष्य अनुरुप विसं २०७९ सम्ममा निकृष्ट र शोषणयुक्त प्रकारको बालश्रम निवारण गर्ने र विसं २०८२ सम्ममा सबै प्रकारका बालश्रम निवारण गर्ने योजना अघि सारेको छ ।
सो योजनालाई योगदान पुराउने उद्देश्यअनुरुप बालश्रम निवारणको लागि ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’ अवलम्बन गर्दै बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यमक्रमहरु संचालन गरिरहेको छ ।
यसै क्रममा चन्द्रागिरि नगरपालिकाको कार्यपालिलका बैठकबाट यस नगरपालिकाका ५,६, ८,११, र १५ वडाले बाल श्रममुक्त वडा घोषणा गर्ने निर्णय गरेर कार्यपालिकामा अनुमोदन भइसकेको छ।
विसं २०८० साल कात्तिक २० गते वडा नम्बर ६ र ८ मा श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख सुजन जोजिजुले बालश्रम अनुगमनसम्बन्धी अभिमुखिकरण गर्नुभयो ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका प्रतिनिधि, वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, बाल अधिकार समिति विद्यालयका प्रतिनिधि,बाल क्लबका प्रतिनिधी,चन्द्रागिरि नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख,बाल विकास समाज, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र बाल रक्षा अभियानको सहभागिता रहेको थियो ।
कार्यक्रममा बालश्रम अनुगमन कसरी गर्ने, पहिलाका अभ्यासको बारेमा पनि जानकारी भएको थियो । कार्यक्रममा बालश्रम अनुगमन गर्दा ध्यान दिनुपर्ने कुरा, कानुनी कारबाहीको बारेमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा बालश्रमका सुचकको बारेमा,विश्वमा बालश्रमको अवष्था,बालश्रम निवारणको आवश्यकता, महत्वपुर्ण नम्बरको बारेमा,बालश्रम निवारणमा पहल र चुनौती,बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधीको बारेमा, बालश्रम सम्बन्धमा नेपालको वर्तमान संविधानमा भएको व्यवस्था, स्थानीय सरकार संचालन ऐन २०७४को बारेमा अभिमुखिकरण भएको थियो ।
यसअघि नगरका वडा नम्बर ३ र १४ बालश्रम मुक्त घोषणा भइसकेको छ ।