काठमाडौँ । शुभ–दिपावली (तिहार) नेपाल सम्बत तथा छठ पर्व २०८० को पावन अवसरमा शान्ति सुरक्षालाई मजवुद बनाउन काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा ११ बुँदे अपिल सार्वजनिक गरेको छ ।
आज सार्वजनिक गरिएको अनुरोध (अपिल)मा लङ्गुरबूर्जा, जुवा र तासलगायतका हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनिएको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी बरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मुख्यगरी पटाकाजन्य गतिविधि, हत्याहिंसा, चोरी, तस्करी तथा हारजित हुने गरी खेलिने खेललाई विशेष निगरानी गरेर प्रहरी टोली परिचालन गरिएको बताउनुभयो ।
यसका साथै चाडपर्वको समयमा भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
सार्वजनिक अपिलमा पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) गरी कदापि सवारी साधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि अनुरोध गरिएको छ ।
नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ÷छैन यकिन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न अनुरोध गरिएको छ ।
यस्तै चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।