काठमाडौँ । अहिले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा अस्थायी पुनवासको काम तीव्र भइरहेको छ। त्यसको अग्रभावमा तीन तहका सुरक्षाकर्मीहरु छन् । उनीहरु आफ्नो गाँसबासको प्रवाह नगरी अहिले प्रभावितको राहत उद्धार व्यवस्थापनमा लागिरहेका छन् ।
भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पनि प्रहरीको पुराना संरचना भत्किएर जीर्ण बनेको प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज भट्टराई बताउँछन् ।
‘पुरानो भवन पूरै चर्किएर बस्नै नमिल्ने भएको छ’, उनले भने, ‘आठबिसकोटमा भाडाको घरमा प्रहरी थियो, अहिले सबै बाहिर बसेका छन् ।’
उनका अनुसार, प्रहरी चौकी, पुर्तिमकाँडा, सोलावाङ र सिम्ली पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी, पीपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीको संरचनामा पनि आंशिक क्षति पुगेको छ । तै पनि प्रहरीहरु उद्धारमा सक्रिय छन् । सेना र सशस्त्र प्रहरी पनि सोही तरिकाले खटिइरहेका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको निवास पनि भूकम्पले भत्काएको छ । शुक्रबार गएको भूकम्पमा ढुंगा झर्दा उनी सामान्य घाइते समेत भए । जिल्ला प्रशासन कार्यालयका पुराना संरचना बस्न नहुने भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीमप्रसाद ढकाल प्रदेशभर ३०८ वटा प्रहरी युनिट रहे पनि २५ प्रतिशत इकाइको मात्रै आफ्नो भवन छ ।
‘७५ प्रतिशत सबै जोखिममा छन्, भाडामा लिइएका घरमा छन्’, ढकालले भने, ‘भूकम्प प्रभावित क्षेत्रका धेरै प्रहरी कार्यालयहरु त्यही कारण अहिले पालमा बसेर सेवा दिइरहेका छन् ।’