काठमाडौँ । गृहमन्त्रालयले टिकटकलगायतका सामाजिक सञ्जाल नागरिकको व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंग जस्तै बनेको भए पनि यसको दुरुपयोगले गम्भिर दुर्घटनासमेत निम्त्याउने हुँदा सामाजिक सद्भाव नविगार्ने गरी प्रयोग गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले यस्ता सामाजिक सञ्जालको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउने उल्लेख गर्दै सामाजिक सञ्जालमा संप्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नेतर्फ आज मन्त्रालयले सचेत गराएको बताउनुभयो ।
कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने भएकाले सचेत हुने आज उहाँले आज विज्ञप्तिमार्फत अनुरोध पनि गर्नुभएको छ ।
मन्त्रालयले भनेको छ, ‘जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’
मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइवर व्यूरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबीच सहकार्य बढाउने उद्देश्यले गृह मन्त्रालयमा छलफल भएको जानकरी गराएको छ ।
उक्त छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी भएका थिए ।
उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लिल खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको मन्त्रालयले आज विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
अहिले भर्खरै जाजरकोट भूकम्पले जनजीवन प्रभावित भइरहेका बेला यस्ता विपद्का बेलामा सामाजिक सञ्जालको प्रयोगमा अझै सचेत हुनुपर्नेमा जोड दिइएको छ।