काठमाडौँ । कुमाल समुदायको महत्वपूर्ण पर्व २०८० सालको माघे सङ्क्रान्ति पहिलो पटक राष्ट्रियरुपमा मनाइने भएको छ ।
अन्य समूदायका माघी पर्वलाई सरकारले सम्बोधन गरे पनि कुमाल समुदायको पर्वलाई चासो नदिएकाले त्यसलाई स्थापित गर्न दबाब दिने उद्देश्यले उक्त पर्व राष्ट्रियरुपमा मनाउने निर्णय भएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमाल (विशाल)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपालीको उक्त पर्व पर्यटन भ्रमण वर्ष घोषणा गरिएको चितवनको भरतपुरस्थित सुन्दर पर्यटकीय नगरी गोलाघाटमा मनाउने निर्णय भएको छ । त्यसको तयारी समेत थालिएको उहाँले बताउनुभयो ।
हालै गोलाघाटमा बसेको कुमाल समाज नेपाल केन्द्रीय समितिको सातौँ बैठकले उक्त पर्व मनाउने निर्णय गरेको हो । बैठकको अध्यक्षता केन्द्रीय अध्यक्ष विशाल कुमालले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय समेत भएको छ ।
भरतपुर महानगरले भरतपुर पर्यटन वर्ष घोषणा गरिसकेकाले महानगरले पनि कार्यक्रम गर्न अनुरोध गरी आवश्यक सहयोगको प्रतिबद्धतासमेत जनाइसकेको छ । त्यसैले चितवनमा कार्यक्रम गर्ने उत्साह मिलेको जनाइएको छ । उक्त कार्यक्रममा चार हजार प्रतिनिधिहरु सहभागि गराउने योजना छ ।
माघे सङ्क्रान्तिमा साँस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शन हुने छ । आफ्नो टिपिकल घरहरु, पाहुनाको स्वागतसत्कारका चालचलनहरुलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने छ ।
महोत्सवकै रुपमा मनाउन लागिएको पर्वमा स्टल समेत राखेर कुमाल समुदायको मौलिक संस्कृति प्रर्दर्शन गरिने छ । अध्यक्ष कुमालका अनुसार मघे संक्रोन्ति दशैँ, तिहारभन्दा पनि ठूलो पर्वको रुपमा लिइन्छ ।
उहाँले भन्नुभयो, ‘थरु, मगरसमुदायको पनि माघे संक्रान्ति हुन्छ । त्यसलाई राज्यले सम्बोधन गरेको छ । राजपत्रमा नै नाम उल्लेख छ तर कुमाल समुदायको पर्वलाई सम्बोधन नगरेकाले प्रधानमन्त्रीलाई नै सहभागि गराएर कुमालको पनि माघे सङ्क्रान्ति छ भनेर देखाउने र राजपत्रमा सम्बोधनका लागि यो कार्यक्रम गरेर दबाब दिन लागिएको हो ।’
यसका लागि ४० देखि ५० लाख खर्च हुने योजना रहेको छ । यो कुमालको पनि पर्व हो भनेर सम्बोधन गर्नका लागि दबाब दिने एउटा आन्दोलन पनि भएको उहाँले बताउनुभयो । कुमाल समुदायको पनि अन्य समुदायको जस्तै महान पर्व हो भनेर स्थापित गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमले सरकारलाई दबाब दिने विश्वास छ। कुमाल समुदायहरु देशका ७० जिल्लामा एकलाख ३० हजार हाराहारीमा रहेका छन् । थर बदल्ने कारणले कुमाल समुदाय कम भएको तर कुमाल २, ३ लाख रहेको बताइएको छ ।