काठमाडौँ । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा साधन श्रोतको परिचालन र खोज, उद्धार तथा राहत कार्य एकद्धार प्रणालीबाट परिचालन गरिने भएको छ ।
गृहमन्त्रालयले आवश्यकताअनुसार साधनश्रोत परिचालन, खोज, उद्धार तथा राहतसामग्री वितरण जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्धार प्रणालीबाट परिचालन गर्ने निर्णय भएको आज जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिले पहिलो प्राथमिकता खोज, उद्धार कार्य रहेको जानकारी दिँदै अस्थायी पुनर्वास र राहत व्यवस्थापनमा पनि सरकारले उत्तिकै ध्यान दिएको बताउनुभयो ।
मन्त्रालयले आज साँझ एक विज्ञप्तिमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थलगत अध्ययन, अवलोकन गरी पडितसँग समेत भेटघाट गर्नुभएको जानकारी गराउँदै उहाँको निर्देशन बमोजिम नै खोज, उद्धार र राहतलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।
मन्त्रालयले आजै उपप्रधानमन्त्री एबं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा प्रमुखसहितको बैठक बसी खोज उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको र सोही अनुसार सम्पूर्ण संयन्त्र परिचालित भइसकेको जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म भूकम्पमा परेर १५७ जनाको मृत्यु भएको र ३७४ जना घाइते भएको पनि जानकारी गराएको छ । मन्त्रालयले घाइतेको उपचार जारी रहेको र सकेसम्म छिटो सुविधायुक्त क्षेत्रमा लगी विशेषज्ञ सेवा दिने प्रयास जारी रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
दुई जिल्लालाई तत्काल ५/५ करोड दिइने
मन्त्रालयका अनुसार सरकारले जाजरकोट, रुकुमपश्चिम जिल्लाको विपद् व्यवस्थापन कोषमा तत्काल ५/५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ ।
सोही रकममार्फत तत्कालिन राहत व्यवस्थापनको काम हुने छ । विभिन्न संघसंस्थाले दिने भनिएको रकम समेत सोही कोषमार्फत नै परिचालन हुने छ ।
खोज तथा उद्धार एबं शव व्यवस्थापनमा विशेष तालिम प्राप्त टोलीलाई प्रभावित स्थलमा पठाइ आवश्यक कार्य जारी रहेको र भूकम्पका कारण अवरुद्ध सकड तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको पनि मन्त्रालयले जानकारी दिएको छ।