काठमाडौँ । गएराती जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट र रुकुममा विध्वंश मच्चाएको छ । उक्त भूकम्पले ठुलो जनधनको क्षति गराएको छ ।
अहिलेसम्म झण्डै एक सय जनाको मृत्यु भएको जनाइएको छ । सयौँ घाइते छन् । प्रहरीले विवरणहरु संकलन भइरहेको जानकारी दिएको छ । जाजरकोटमा गएको ६.४ रेग्टर स्केलको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंह (तस्वीरमा) को निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाले उद्धार जारी रहेको बताए ।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका मानिस छन् ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार ठूलो जनधनको क्षति भए पनि यकिन भइनसकेको बताइएको छ । अहिले सुरक्षा जनशक्ति उद्धारमै खटिएको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।
यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल राहत सामग्रीसहित वस्तुस्थिति बुझ्न घटनास्थलतर्फ गएका छन् ।