काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो दावी गरिएको सञ्चार संस्था कान्तिपुर दैनिक र पत्रकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ । कान्तिपुरले पत्रकारलाई निकालेको भन्दै नेपाल पत्रकार महासंघसहितका संघसंस्था आन्दोलित छन् ।
तर पनि अहिलेसम्म कान्तिपुर भने टसकामस नगरि आन्दोलन हेरेर बसिरहेको छ । एक चरणको छलफल गरे पनि निकास ननिस्किएपछि पत्रकार महासंघले मुद्दालार्इ अन्तराष्ट्रिय समुदायसम्म पुर्याउने गरी आन्दोलन अघि बढाएको छ ।
पत्रकार महासंघले श्रमजीविकोविरुद्धमा लागेको भन्दै महासंघको कान्तिपुर प्रतिष्ठान शाखालाई निलम्बन गर्दै कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
शुक्रवार बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासंघको विधानविपरीत क्रियाकलाप गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको महासचिव रोशन पुरीले जानकारी दिए।
महासचिव पुरीले भने‚ ‘कान्तिपुर प्रतिष्ठान शाखाले महासंघको विधानविपरीतका काम गरेपछि स्पष्टीकरण सोधेका थियौँ। हामीले तत्कालका लागि कान्तिपुर शाखालाई निलम्बित गरेका छौँ।’
कान्तिपुर व्यवस्थापनविरुद्ध फेरि अर्को चरणको आन्दोलन गर्ने निर्णय पत्रकार महासंघले जनाएको छ। महासंघले मङ्सिर १० गतेसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ। कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता अप्ठेरोमा परेको बताउँदै पुरीले आन्दोलनका विभिन्न कार्यक्रम राखिएको जानकारी दिए।
८२ जना पत्रकारलाई कान्तिपुरले कानुनविपरीत निष्काशन तथा अवैध तरिकाले सरुवा गर्ने काम गरेको भन्दै पत्रकार महासंघले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ। पत्रकार महासंघले विषयलाई आइएलओ र युएनसम्म पुर्याउने गरी आन्दोलन अघि बढाएको छ ।