काठमाडौँ । भ्रमण भिषामा विदेश जानका लागि नक्कली सर्टिफिकेट र कागजात पेश गर्ने गरेको फेला परेको छ । त्यसरी नक्कली गतिविधि गरी सेटिङ गर्न गिरोह नै परिचालन हुने गरेका छन् ।
हालै दुई घटना त्यस्तै फेला परेको छ । शंका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएकासँग नक्कली कागजात र सर्टिफिकेट रहेको फेला परेको छ ।
उनीहरुलाई गिरोहको समूहले नक्कली कागजात र सर्टिफिकेट बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले विमानस्थलको अध्ययागमन कार्यालयले शंका लागेर पठाइएका उनीहरुमाथि अनुसन्धान गर्दा सो तथ्य खुलेको जानकारी दिनुभयो ।
विमानस्थल कार्यालयले गत असोज २९ गते ती व्यक्तिका कागजातहरु पठाएको थियो ।
उक्त कागजातमध्ये केही उच्च माध्यमिक विद्यालयका सर्टिफिकेट नक्कली देखिएकोमा उक्त कागजात बनाउने उदयपुर घर भई पेप्सीकोला बस्ने आशिष श्रेष्ठ र काभ्रेपलान्चोकको पाँचखाल घई भई सिनामंगल बस्ने वर्ष २८ को जीवराज तामाङ रहेका पाइएको छ ।
उनीहरुले पीडितबाट रु पाँच लाख लिई विमानस्थलमा सेटिङ मिलाई विदेश पठाउन खोजेको भेटिएको पनि प्रहरीले जनाएको छ ।
पक्राउपछि उनीहरुसँग खानतलासी गर्दा मोबाईल २ थान, रु ९५ हजार र जेम्स दामदाली नामको राहदानीसमेत फेला परेको छ ।
रेग्मीका अनुसार यसैगरी विमानस्थलबाट फर्काएका अर्का व्यक्तिको कागजात अध्ययन गर्दा राहुलकुमार मण्डलको नामको कक्षा १२ को ट्रान्सक्रिप्ट नक्कली फेला परेको छ ।
उक्त कागजात बनाउने काठमाडौँ बस्ने साइरस विसंखेलाई पनि पक्राउ परी आवश्यक अनुसन्धान थालिएको छ ।
नयाँ बानेश्वरमा ग्राफिक डिजाईनिङ्ग एण्ड प्रिन्टिङ सर्भिस सञ्चालन गर्दै आएका विसंखेका उक्त प्रिन्टिङ सर्भिस खानतलासी गर्दा केही शैक्षिक प्रमाणपत्रहरु बरामद गरिएको छ ।
उनीहरु तीननै जनालाई थप कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।