काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाका तीन जिल्लामा नियमित जसो ट्राफिक नियम उल्लंघनविरुद्ध अभियान चलाइरहेको छ।
दैनिक एक हजार ५०० कै हाराहारीमा कारबाही गरिरहेको छ । तर नियम उल्लंघनको क्रम भने उस्तै छ । पछिल्ला केही दिनको तथ्यांक हेर्ने हो भने यो क्रम उस्तै देखिन्छ ।
चाडपर्वका अबसमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेविरुद्ध कारबाही अभियान तिब्र बनाएको छ ।
नियम उल्लंघन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तिब्र पारेको बताएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५२७ जना चालकलाई कारबाही गरिएको छ । हिजो पनि सोही हाराहारीमा कारबाही भएको थियो ।
उहाँले सोमबार विहानदेखि आज विहान ६ बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताउनुभयो ।
यस्तै लेन मिच्ने २१, रेड लाइट क्रस गर्ने, १२, अनावश्यकरुपमा हर्ज बजाउने १७, नम्बर प्लेट नराखी सवारी चलाउने १५ जना र तिब्र गतिमा गाडी चलाउने ३२१ जना चालक कारबाहीमा परेका छन् ।
एसएसपी भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार ५२७ जना चालकलाई कारबाही गरेको जानकारी दिनुभयो । तर पनि नियम उल्लंघनमा थोरै पनि कमी भने हुन सकेको छैन ।