काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटा उपमहासचिवमा विजयी भएका छन् ।
यही असोज ३० देखि कात्तिक ३ गते काठमाडौंमा भएको एनआरएनएको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वसम्मेलनले नयाँ नेतृत्व चयन गरेको थियो । उनले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई सार्थक तुल्याउन तथा नीतिगत व्यवस्था सुधारका लागि पहल गर्न आफूले उपमहासचिवमा उम्मेदवारी दिएको बताएका थिए।
‘गैरआवासीय नेपालीले नेपालमा आर्थिक अधिकार प्रयोग गर्दा आइपरेका समस्या समाधान गर्न र विदेशबाट नेपालमा लगानी जुटाउने सवालमा कानुनी जटिलता छ । त्यो हटाउन मेरो प्रयत्न र पहलकदमी लिनेछु,’ जितपछि उनले भने, ‘गैरआवासीय नेपालीले नेपालका जुनसुकै आर्थिक क्षेत्रमा सहज ढङ्गले लगानीको वातावरण बनाउन सरोकारवाला निकायसँग समन्वय गरी तार्किक निष्कर्षमा पुर्याउने प्रतिबद्धता गर्छु ।’
उनले रोजगारीको सिलसिलामा मध्यपूर्व वा अन्य देशमा पुगेका नेपालीको हितलाई मध्यनजर गर्दै वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउन कदम चाल्ने समेत बताए ।
‘विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई सीप डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्नेछु,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जानुपूर्व नै सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली पठाउन दक्ष नेपाली कामदार उत्पादनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु । त्यसका लागि आवश्यक तालिम केन्द्र स्थापनाका लागि नेपाल सरकारसँग मिलेरै काम गर्न आवश्यक छ ।’
२००७ पोर्चुगलबाट एनआरएन अभियानमा लागेका सापकोटा एनआरएन डेनमार्कका संस्थापक अध्यक्ष हुन् । उनी आईसीसी सदस्य, युरोप उपसंयोजक, आईसीसी सहकोषाध्यक्ष भइसकेको अनुभवको आधारमा एनआरएनको हक अधिकारका लागि लड्न सहज हुने बताउँछन् ।