काठमाडौँ : बडादशैँ सुरु भइसकेको छ । दीपावली, छठ, नेपाल संवत्लगायतका चाडपर्व पनि सन्निकट छ । नेपालीहरुको महान् चाडपर्व सुरुहुँदै गर्दा धेरै मानिसहरु आफ्नो घर–ठाँउजाने चटारोमा देखिन्छन् ।
तर केही व्यक्तिका लागि भने नजिएको चाडपर्वमा जाने न घर, न छत, न परिवार छ । बास उनीहरुका लागि घर त्यही सडक र छत आकाश बनिरहेको छ । तिनै सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अनाथ, शारीरिक तथा मानसिकरूपमा कमजोर) व्यक्तिहरुको लागि मानवसेवा आश्रम सहारा बनिरहेको छ ।
विगत लामो समयदेखि बेसहाराको सहारा भन्दै आएको मानवसेवा आश्रमले यस वर्ष समेत ‘चाडपर्वमा कोही नरहुन् सडक’ मा भन्ने मुल नाराका साथ मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को तय गरेको हो । यस अभियानलाई साथ दिँदै गत २६ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट मिलेको शुभकामनासहित अभियानको यात्रा प्रारम्भ भएको थियो ।
यस अभियानमा मानवसेवा आश्रमले गत २७ गते मेचीपुलमा दीप प्रज्वलन गरी यात्राको शुभारम्भ गरेको थियो।
त्यसलगत्तै गत २८ गतेदेखि नेपालको पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ सुरु भएको हो ।
कहाँ कति उद्धार ?
आगामी मङ्सिर ४ गतेसम्मको लागि उद्धारको यात्रा तय गरेका आश्रमका अभियान्ताले पहिलोदिन मेचीनगरदेखि सुरुङगा क्षेत्रसम्म उद्धार कार्य गर्दै आउँदा उक्तदिन १० जना व्यक्तिको उद्धार गरिएको थियो ।
जसमा ३ जना महिला, ६ जना पुरुष र १ जना बालिकाको उद्धार भएको मानवसेवा आश्रमले जनाएको छ । त्यस्तै, दोस्रोदिन अर्थात गत २९ गते सोमबार विहानैदेखि आश्रमका अभियान्ताहरुले झापाको दमक नगरपालिका, उर्लाबारी नगरपालिका र काने पोखरी गाँउपालिका परिसरबाट १३ जना सडक मानवको उद्धार गरेको छ ।
त्यसदिन उद्धार हुनेमा ७ जना पुरुष र ३ जना महिलाहरुको रहेका छन् । यससँगै, मानव सेवा आश्रमले मंगलबार विराटनगर धरान र इटहरी क्षेत्रमा उद्धार गरेको छ । जसमा पुरुष ९ जना र महिला १ जना गरेर जम्मा व्यक्ति १० जना छन् । यसरी उद्धारको तेस्रोदिनसम्म आउँदा ३३ जना व्यक्तिको उद्धार गरिएको छ ।
खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्येक्त गरिएका व्यक्तिहरुका लागि आश्रमले सधँै आफ्नो डोका खुल्ला गरेको छ । विसं २०६९ सालमा केही युवा मिलेर सडकमा बेवारिसे जीवन बिताइरहेका मानवको उद्धारका लागि ‘मानव सेवा आश्रम’ स्थापना गरिएको थियो ।
स्थापनाकालदेखिको लक्ष्य अनुसार आश्रमले विसं २०८२ सालसम्म देशलाई नै सडक मानव मुक्त बनाउने सङ्कल्प लिएको छ । जसमा संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको साथ र सहयोग आवश्यक पर्ने छ ।
यात्राको लक्ष्य
यो यात्रा ३८ दिनको देशका ४३ जिल्लामा पुग्ने लक्ष्य र अभियानका क्रममा ३ सय बढी सहयोगापेक्षी मानवको उद्धार गर्ने आँकलन मानव सेवा आश्रमको छ । यस अभियानमा आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा यो अभियान सञ्चालन भएको हो।
अहिले कोशी प्रदेशमा पुगेको उद्धार टोलीबाट उद्धार भएका व्यक्तिहरुलाई विराटनगरस्थित रहेको आश्रममा राखिने भएको छ । अहिले भइरहेको अभियानमा स्थानिय सरकार, प्रहरी प्रशासन, एम्बुलेन्स र स्यवंसेवकको सहकार्यमा सडक मानवको उद्धार गरिएको छ । यस अभियानले सडक मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य आश्रमको छ । जसको लागी आश्रमले तिव्र रुपमा आफ्ना अभियानहरु अघि बढाइरहेको छ ।
मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लामा २४ सेवाकेन्द्रहरु सञ्चालन गरी ७७ ओटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारिक पुनर्मिलन लगायत कार्य गर्दै आइरहेको छ ।
विगतमा पनि मेची–महाकाली राष्ट्रिय उद्धार
मानवसेवा आश्रमको यो उद्धार यात्रा पहिलो पटक भने हैन् । विगतमा समेत यस्तो यात्रा गरिएको थियो भने यो तेस्रो पटकको यात्रा हो । पहिलो यात्रा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०७७ सालमा भएको थियो ।
त्यतिबेला ‘सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष—२०७८ सफल पारौं’ भन्ने नारासहितको अभियान तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो ।
त्यति बेला भएको अभियानमा करिब ७ सय जना व्यक्तिको उद्धार गरिएको थियो । साथै, दोस्रो ‘महाकाली–मेची राष्ट्रिय उद्धार यात्रा २०७८’ मा भएको थियो ।
सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको आश्रमले त्यतिबेला करिब ५ सय जना व्यक्तिको उद्धार गरिएको थियो ।
त्यस्तै, यस वर्षको अभियानले देशलाई सडकमानव मुक्त बनाउँने लक्ष्य सफल हुनेमा आश्रमको विश्वास छ । यद्यपि, यस अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले जोड गरेको देखिएको छ ।