काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दशैँ सुरक्षामा कुनै खोट नहोस् भन्दै देशभरका प्रहरी कर्मचारीलाई ठाडो निर्देशन दिनुभएको छ ।
नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई आज प्रहरी प्रधान कार्यालयबाट भर्चुअल बैठकलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयले सेवालाई छिटोछरितो र नागरिकमैत्री बनाउँदै कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृतिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करीलगायतका गैरकानुनी क्रियाकलाप नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
आपराधिक तथा गैरकानुनी क्रियाकपाल नियन्त्रण तथा कारबाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न पनि उहाँले निर्देशन दिनुभयो । बजार अनुगमनलगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ती व्यवस्थापन मिलान पनि उहाँले सुभाmव दिनुभएको छ ।
चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारीसम्बन्धी निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त ईलाकाहरूमा अझै बढी ध्यान दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
संगठनको आन्तरिक सुदृढिकरण तथा शुद्धिकरणको नीतिलाई मूर्तरूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै लैजान र कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन पनि दिनुभयो ।