काठमाडौँ । वर्षा हुने प्रणाली छाडेर यस वर्षको मनसुन १३ दिन ढिला गरी आज नेपालबाट बाहिरिएको छ ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तोकिएता पनि यो वर्ष १३ दिन ढिलो गरी आज १५ अक्टोबरमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी जानकारी दिएको छ।
सुदुरपश्चिम क्षेत्रबाट भने गत साता नै बाहिरिएको थियो । देशभरबाट बाहिरिन भने समय लागेको हो ।
नेपालमा जुन १३ मा मनसुन भित्रिने सरदर मिति तोकिए पनि यसवर्ष एक दिन ढिला गरी भित्रिएको थियो । देशभर मनसुन सक्रिय हुन भने थप नौ दिन लागेको थियो । नेपालमा जेठ ३१ मा मनसुन भित्रिएको थियो ।
वर्षभरी पर्ने मानीमध्ये मनसुनका बेलामा ८० प्रतिशत पर्छ । यसपटक भने मनसुन अवधिमा सरदरभन्दा कम पानी परेको विभागले सार्वजनिक गरिसकेको छ ।
यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले आज सार्वजनिक गरेको बुलेटिनमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको कारणले भोलि सोमबारदेखि नेपालको सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चटयाङ सहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने ३ दिने मौसम पूर्वानुमानमा यस सम्बन्धि जानकारी अध्यावधिक गर्दै जाने भएकाले महाशाखाको वेवसाईट हेर्न पनि अनुरोध गरिएको छ ।
आज राती देखिनै ठाउँठाउँमा वर्षा हुने भएकाले आजै खेतीबाली भित्र्याउन र एक दुई दिन धान नकाट्न अनुरोध गरिएको छ ।