विश्वका विभिन्न देशमा पेशा, व्यवसाय, रोजगार र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा रहेका नेपालीहरुबीच भाइचाराको सम्बन्ध विस्तार र हकहितको संरक्षण गर्दै प्रवासमा बस्दै गर्दा सिकेको सिप, पुँजी र अनुभवनलाई भित्र्याएर समृद्ध नेपाल निर्माण गर्ने अठोटका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको २० वर्ष पुरा भइसकेको छ । विभिन्न देशबाट गैरआवासीय नेपालीहरुले संस्थागत र व्यक्तिगतरुपमा नेपालको विभिन्न क्षेत्रमा लगानी भित्र्याउनुका साथै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । ती मध्येका एक सोम सापकोटा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० भित्रको परिचित नाम हो ।
सन् २००६ देखि एनआरएनएमा आवद्ध उनी त्यसयता विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै हाल केन्द्रीय प्रवक्ताको महत्त्पूर्ण भूमिकामा छन् । त्यसपछि क्रमश सन् २००६ मा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषद्को निर्वाचित सदस्य हुँदै एनआरएनएको संस्थागत अभियानमा जोडिएका उनी सन् २००९ मा डेनमार्कको संस्थापक अध्यक्ष, २०११–२०१३ सम्म गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य, सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषद्को सह कोषाध्यक्ष बने
सापकोटा सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भए । सापकोटा नेपाल पर्यटन बोर्डको डेनमार्कका लागि २०१४ देखि १६ र माल्टाका लागि २०१९ देखि २१ सम्म मानार्थ जनप्रतिनिधि र वेल्सका लागि २०२२ मा टुरिजम गुडविल एम्बासडर आवद्ध बनेका उनी हाल उनी एनआरएनएको नेपाल पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत हुन् ।
यसैगरी नेपाल लाइब्रेरी फाउन्डेसनका साथै एनआरएनएको पुस्तकालय परियोजनाअन्तर्गतमा काम गरिसकेका उनले वैदेशिक रोजगारी कल्याणकारी कोषको संयोजक रहेर पनि काम गरे ।
२०३१ असोज ८ गते बागलुङमा जन्मिएका सापकोटाले एनआरएनएका विभिन्न तहमा बसेर काम गर्ने सिलसिलामा संस्थाको पारदर्शिता र मर्यादा कायम राख्नुपर्ने सवालमा जोड दिँदै आएका छन् । स्पष्ट वक्ता र कुनै पनि जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र त्यसमा नतिजा समेत निकाल्न सक्षम सापकोटाले गैरआवासीय नेपाली संघको अक्टोबरमा हुन लागेको ११औँ विश्व सम्मेलनमा आगामी कार्यकाल ९२०२३–०२५० का लागि उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनै सापकोटासँग उनका चुनावी एजेन्डा तथा प्रतिबद्धताका साथै समग्र एनआरएनए अभियानका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ, तयारी कस्तो भइरहेको छ ?
गैरआवासीय नेपाली संघको विभिन्न तहमा झन्डै २० वर्ष मैले काम गर्ने अवसर पाएँ । सुरुमै म यो अभियानमा किन लागेँ भने यो विदेशमा बस्ने सबै नेपालीहरूको साझा सङ्गठन हो।
यो २० वर्षको अवधिमा हामीले भावनात्मक रूपमा सङ्गठन बनाउँदै पनि लाग्यौँ । अब यसलाई संस्थागन गर्ने, मुलुकलाई एनआरएनएसँग जोड्ने रविकास र समृद्धिलाई टे्वा पुर्याउने कामका लागि पनि नेतृत्व रहेकालाई थप प्रभावकारी बनाउनुपर्ने भएकाले सबैको चाहननामा मेरो उमेद्वारी हो ।
उपमहासचिवको तयारी गर्दै गर्दा साथीभाइ भेटघाट गर्ने, अग्रजहरूको सुझाव लिने जस्ता कार्यहरू भइरहेका छन् । व्यक्तिगतरुपमा अग्रज र साथीभाइहरुसँग उम्मेदवारीबारे परामर्श लिँदा धेरैको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सबैले अघि बढ भनेर होसला दिइरहेको अवस्थाले गर्दा उत्साहित बनाएको छ ।
तपाईँले संस्थामा २० वर्षदेखि हुनुहुन्छ, यो अवधिमा एनआरएनएका लागि के–के गर्नुभयो ?
विगतमा कुनै राजनीतिक दलको क्रियाशील सदस्य भएको अवस्थामा त्यो सबै छाडेर यो अभियानमा लागेको हुँ । मेरो ध्येय भनेको एनआरएनएलाई सबैको र सबैका लागि पार्टीभन्दा माथि बनाउने हो ।
मुल प्रश्न, मैले के गरेँ भन्दा पनि संस्थागतरुपमा हामीले धेरै काम गरेका छौँ । संस्थागतरुपमा ठूलो नेटवर्किङ बनेको छ । नेपाल सरकारले विश्वभर ३२–३६ वटा ठाउँमात्रै कूटनीतिक नियोगहरु स्थापना गरेको छ । आज हामीले प्रत्यक्षरुपमा ८७ देशमा त राष्ट्रिय समन्वय परिषद् स्थापना गरेर त्यहाँको नेपाली, त्यहाँको अवस्था र समग्र नेपाललाई चिनाउन र नेपाल र नेपालीको हकहितका लागि कोही नभए पनि कमसेकम हामी छौँ । त्यो सबैभन्दा ठूलो प्रोपर्टी हो भन्ने मलाई लाग्छ ।
कला, संस्कृतिको प्रचारप्रसारका साथै त्यहाँ भएका नेपालीहरूको ज्ञान, सीपलाई आदानप्रदान गर्ने एउटा फोरम पनि भएको छ। यही फोरमबाट नेपालमा लगानी गर्न, सामाजिक क्षेत्रमा काम गर्न पनि सकेका छौँ ।
व्यक्तिगतरुपमा पनि मैले नेपालमा विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गरेका छु । विशेषगरी नेपालको पर्यटन प्रवर्धन र समाजसेवाको मैले केही महत्वपूर्ण काम गरेको छु ।
२००९ मा डेनमार्कमा कोप–१५ को अवसरमा ‘सेभ त हिमालय’ नामको पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम गर्ने अवसर पाएँ । त्यतिबेला हिमालहरूको संरक्षणका लागि विश्वसामु ‘सेभ द हिमालय’ भन्ने कार्यक्रम प्रस्तुत गरिएको थियो । कोपनहेगनमा नेपाली आरोहीहरू, ३७ जना सांसद, मन्त्री, प्रधानमन्त्रीलगायतको उपस्थितिमा अव्य कार्यक्रमको आयोजना हुँदा त्यसमा मेरो महत्त्वपूर्ण भूमिका रहेको थियो ।
यसैगरी सन् २०११ मा गैरआवासीय नेपाली संघको नेपाल प्रमोसन कमिटीको सदस्य भएर काम गर्ने अवसर पाएँ । यसैगरी सन् २०१४ देखि १६ सम्म गैरआवासीय नेपाली संघकै युरोप क्षेत्रको पर्यटन प्रवद्र्धन समितिको संयोजक भएर काम गर्ने अवसर पाएँ ।
नेपाल सरकार पर्यटन बोर्डको तर्फबाट मानार्थ जनप्रतिनिधिको रूपमा पनि काम गर्ने अवसर पाएँ । त्यतिबेला ‘सेन्ड होम अ फ्रेन्ड’, ‘बुद्ध नेपाल क्याम्पेन’ जस्ता कार्यक्रमहरू सञ्चालन भएका थिए । साथसाथै नेपाली मौलिकता झल्किने विभिन्न रोड सो, पञ्चेबाजाको प्रदर्शनी, नेपाल फेस्टिभल, माउन्टेन्स डे, बुद्ध जयन्ती जस्ता कार्यक्रमहरू आयोजना गरेर डेनमार्कमा सिर्जनशील काम र अभियान सञ्चालन गरेर नेपाललाई चिनाउने भरपुर प्रयासहरू भएका थिए ।
जसको परिणामस्वरुप नेपालमा पर्यटकहरू भित्र्याउन केही भए पनि सहयोगी भूमिका निर्वाह गर्ने काम भएको थियो । मेरै सक्रियतामा २०१७ मा पर्यटन क्षेत्रलाई नै लक्षित गरेर ‘भिजिन नेपाल युरोप क्याम्पेन २०१७’ चलाइएको थियो ।
यसबाहेक आफ्नो व्यवसाय र अवसरको खोजीमा माल्टामा पुग्दा फेरि २०२० देखि २०२१ सम्म अर्थात् दुई वर्ष माल्टाका लागि नेपाल टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधिको रूपमा काम गर्ने अवसर पाएँ ।
माल्टापछि बेलायत पुग्दा वेल्सका लागि नेपाल सरकारको मन्त्रिपरिषद् बैठकबाटै टुरिजम गुड विल एम्बासडरका रूपमा नियुक्ति पाएँ । अहिले यो फोरममार्फत पनि मैले निरन्तर नेपालको पर्यटन प्रवर्धनका लागि कामहरू गरिरहेको छु ।
ई–पुस्तकालयका सवालमा केही काम गर्ने अवसर पाएको छु । मेलै प्रयास र अभियानको बलमा देशमा २०० भन्दा बढी स्थानमा ई–पुस्तकालय खुलेका छन् । समाजका दुःखी, गरिब र समस्यामा परेकाहरूलाई आफ्नै प्रयासमा र संयोजन गरेर सहयोग भएका छन् ।
गैरआवासीय नेपाली संघको उपमहासचिवको उम्मेदवारका रुपमा यहाँको एजेन्डा के–के छन् ?
विशेषगरी एनआरएनएको सचिवालयबाट जुन डेलिभरी हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । त्यसलाई अलि फरक तरिकाले लैजानका लागि र समग्र एनआरएनए अभियानलाई गति दिनका लागि मेरो उम्मेदवारी हो । त्यसैले गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त बनाउन पहल गर्नेछु ।
एनआरएनए सामूहिक नेतृत्वबाट सञ्चालित संस्था हो, त्यसैले कतिपय विषयहरूमा व्यक्तिले चाहेअनुसार अगाडि बढ्न नसकेको मेरो अनुभव छ । भविष्यमा पनि विगतको अनुभवलाई भरपुर उपयोग गर्दै प्रवासमा बस्ने नेपाली र मातृभूमि नेपालको हितमा परिणाममुखी काम गर्ने प्रतिबद्धता मेरो छ ।
विदेशमा बस्ने नेपालीका साझा समस्याको पहिचान र दीर्घकालीन समाधान गर्न, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीको अवस्था सुधार गर्न, विदेशमा बस्ने नेपालीको सामूहिक लगानीको प्रत्याभूति गर्न र नेपालको पर्यटन, कला, संस्कृतिको विकास तथा नेपालको पर्यटन प्रवर्द्धनात्मक काम गर्ने मेरो प्रतिबद्धता छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका समस्यामा परेको अवस्थामा एनआरएनएले वैदेशिक रोजगार कोष मार्फत उनीहरूलाई सहयोग, उद्धार र राहत दिने व्यवस्था मिलाउन प्रयास गर्ने मेरो प्रतिबद्धता छ ।
यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा कागजी समस्या परेर विभिन्न देशका जेलमा रहेका नेपाली नागरिकलाई सहयोग गरेर स्वदेश फिर्ता गर्ने कार्यमा एनआरएनएलाई क्रियाशील गराउन पहल गर्नेछु ।
एनआरएनएले सञ्चालन गरेका परोपकार योजनालाई थप प्रभावकारी बनाउने, संस्थाको सुदृढीकरण र पूर्ण व्यवस्थित गर्नतर्फ लाग्नेछु । साथै, विश्वभर छरिएर रहनुहुने प्रवासी नेपालीहरूलाई एउटै छानामुनि केन्द्रित गरी भाइचाराको सम्बन्ध विकास गर्दै प्रवास बस्ने नेपालीहरूको साझा संगठन निर्माणमा क्रियाशील रहने छु।
यसबाहेक राष्ट्रिय समन्वय परिषदहरुलाई थप स्वायत्त बनाउने, संघका नियमित मुद्दाहरूमा पहल गर्ने, गैर आवासीय नेपाली संघलाई संस्थागत र सशक्तीकरण गर्दै संस्थामा नयाँ पुस्ता र प्रविधिलाई एकै साथ अगाडि बढाउने दिशामा लागिपर्नेछु ।
यसैगरी संघलाई महिला, युवा, दोस्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै अभियानमा सबैलाई जोड्ने, सहभागिताको सुनिश्चितता गर्न पहल गर्ने, सचिवालयलाई थप व्यवस्थित मर्यादित, पारदर्शी र प्रविधिमैत्री सहित क्रियाशील बनाउन लागिपर्ने मेरो प्रतिबद्धता छ ।
यसैगरी विश्वका विभिन्न देशमा रहेका नेपालीले आफ्नो समस्याको जानकारी गराउने र समाधानका लागि तत्काल सम्बोधन गर्ने गरी डेस्क स्थापना गर्न आवश्यक देखिएकाले विदेशमा बस्ने नेपालीका लागि उद्धार कानुनी सुझाव सहयोग र अन्य समस्या समाधानका लागि २४ सै घन्टा सेवा दिनेगरी काम गर्न पहल गर्ने छु ।
बेलायती भूतपूर्व गोरखाहरुको समस्या समाधान गर्न पहल गर्नेसहित एनआरएनए अभियानलाई उचाइमा पुर्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाउँछु ।
एनआरएनए अझै विभाजित अवस्थामा छ, खासमा एनआरएनएमा पदका लागि विवाद किन भइरहन्छ ?
नेपालभन्दा बाहिर एउटा अर्को नेपाल छ । नेपालमा ७७ वटै जिल्लाका विभिन्न सोच र विचार राख्ने साथीहरू हामी विदेशमा छौँ । यो मात्रै एउटा यस्तो संगठन हो, जसलाई सरकारले र अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको छ । यसको नेतृत्वका लागि योभित्र रहेर म केही गर्छु भन्ने सबैमा चाहना हुनु स्वाभाविक हो । जसमा जतिले इच्छा चाहाना देखाउनु भएको छ, यसले संस्थाको गरिमा बढेको छ भन्ने मेरो बुझाइ छ । त्यसैले यो खण्डीकृतको अवस्था त के हो भने संस्थालाई जसरी विधि र विधानले बाँध्नुपर्थ्यो त्यसो नभई भावनाले चलेपछि कहीँ न कहीँ समस्या भएकै हो ।
२० वर्षको लक्का जवान भइसक्दा कतै संघमा समस्या आएको हो कि भन्ने पनि यदाकदा सुन्न पाइन्छ, तर हामी ११ औँ महाधिवेशनको सम्मुखमा हुँदैगर्दा केही समस्या रहेछ भने पनि सबै मिलाएर अघि बढ्छौँ। केही साथीहरुको चित्त नबुझेको हुनसक्छ यत्रो ठूलो संस्थामा कसैले फरक मत राख्नु सामान्य कुरा हो । अझै पनि हामी सबैलाई समेटेर लैजाऔँ भन्नेमै छौँ । जो अहिले फरक मत राखेर बाहिर हुनुहुन्छ, उहाँहरु पनि सच्चिएर आउनुहुन्छ र हामी सँगै हुन्छौँ ।
खासमा एनआरएनएको पद नै चाहिँ किन चाहिने रहेछ ?
यो यस्तो चिज हो, जब हामीले अवसरको खोजीमा बाहिरियौँ । बाहिरिएपछि बल्ल देशको माया र देशका लागि केही गर्नुपर्ने अनुभूति भयो । त्यसपछि हामीले यो सामाजिक संस्था स्थापना गरेका छौँ । सबै अटाउन सक्ने र देश विदेशमा पनि ट्रस्ट भएको संस्था हो एनआरएनए । त्यसको नेतृत्व गर्न सबैको चाहना हुन्छ र छ नै । विदेशमा पनि नेपालका राजनीतिक दलका पनि विभिन्न संघ संगठनहरु छन्, त्यो भन्दा पनि यो सङ्गठनहरूको पनि संगठन हो । सबै नेपालीको साझा हो ।
मैले सबै कुरा छाडेर यो अर्गनाइजेशनको माध्यमबाट विश्वभर रहेका नेपालीको हकहितको संरक्षण गर्दै हामीले सिकेका सीप र पुँजीलाई पनि नेपाल र नेपालीको हितमा ल्याउनका लागि यो एउटा माध्यम बन्न सक्छ भन्ने हिसाबले नै संघलाई रोजेको हुँ । समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पुरा गर्नका लागि संघमा आएको हो, र यसमै निरन्तर रहिरहने योजना छ ।
अन्तिममा आम एनआरएनएहरुलाई के भन्न चाहनुहुन्छ ?
म एनआरएनए अभियानमा निरन्तर रहेको कुरा पुनः स्मरण गराउन चाहन्छु । गैरआवासीय नेपाली संघ, पोर्चुगलको कार्यसमिति सदस्यको रूपमा निर्वाचित भएर मैले जब एनआरएनएको यात्रा सुरु गरेँ त्यसयता कुनै न कुनै जिम्मेवारीमा रहेर अहिले प्रवक्ताको रूपमा छु ।
त्यसैले अहिलेसम्म जे गर्न सकिएन ती गर्न बाँकी रहेका कामलाई व्यवस्थित, मर्यादित र पारदर्शीका साथै साझा र एकताबद्ध एनआरएनए बनाउने उद्देश्यसहित मैले उम्मेदवारी घोषणा गरेको छु । मलाई सबै एनआरएनए अभियन्ताहरूले सधैँझैँ साथ दिनुहुन्छ भन्नेमा आशा राखेको छु । र, सहयोगको अपिल पनि गर्न चाहन्छु ।