काठमाडौँ : काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातकको पढाई शुरु गरेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट, कला तथा डिजाइन विभाग र स्कुल अफ इन्जिनियरिङ तथा मेकानिकल इन्जिनियरिङ विभागको आयोजनामा काठमाडौँमा बिहिवार एक कार्यक्रमका बीच उक्त कोर्स शुभारम्भ भएको घोषणा गरिएको हो ।
उक्त कोर्सको शुभारम्भ समारोहममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयले शिल्पकलाको पठनपाठन शुरु गरेर कला क्षेत्रको विकासमा योगदान दिएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले पनि कलाको विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसदमा टेबल गरिएको जानकारी दिनुभयो ।
उक्त समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा डिजाइन कलामा स्नातक पठाई शुरु हुनु ललितकला क्षेत्रकै लागि उपलब्धिको कुरा भएको उल्लेख गर्दै यसले ललितकलाको शीर उँचो हुने प्रतिक्रिया दिनुभयो ।
उहाँले ललितकला विकासका लागि प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेका वेला प्राज्ञिक क्षेत्रमै परम्परागत कलाको शिक्षा प्रदान हुनु महत्वपूर्ण हो भन्नुभयो ।
उक्त समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताउनुभयो । उहाँले रैथाने कला, परम्परागत कला, ज्ञान र सीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताउनुभयो ।
उक्त विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेलले नेपालमै पहिलोपटक शिल्प र डिजाइन शिक्षा आरम्भ हुनु ऐतिहासिक क्षण भएको बताउनुभयो । उहाँका अनुसार उक्त कोर्स ४ वर्षे रहेको छ । २० जना विद्यार्थीहरु भर्ना भएका छन् ।
यस्तै कला क्षेत्रको विकासका लागि विश्वविद्यालय र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता पनि भएको छ ।