चितवन । नेपालमा पनि २७औँ विश्व अण्डा दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । नेपालमा अण्डा उत्पादन हुने जिल्लाहरुमा व्यवसायीहरुको अग्रसरतामा यो दिवस जनचेतनामुलक कार्यक्रमसहित मनाउनेक्रम जारी छ।
चिनवनमा पनि यो दिवस साताव्यापी मनाईंदै छ । यसको समापन भने पोखरामा गरिने छ । यही २० गते देखि २६ गतेसम्म साताव्यापी मनाउन थालिएको यो दिवसको समापन २६ गते पोखारामा हुने अग्रज पोल्ट्री व्यवसायी, नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।
दिवसका अवसरमा चितवनमा केही दिनदेखि सामुदायिक विद्यालय अस्पताल र सामाजिक क्षेत्रमा चेतनामुलक कार्यक्रम गरिरहेको र अण्डा वितरण पनि जारी छ । मंगलबार मात्रै रत्ननगर बकुलहर अस्पतालका विरामीहरुलाई अण्डा वितरण गरेर दिवस मनाइएको छ । व्यवसायी तथा जानकारहरुले अण्डा सेवन मानिसको स्वास्थ्यका लागि फाइदा धेरै रहेको बताएका छन् ।
लेयस कुखुरा उत्पादक संघ र नेपाल भेटेरिनरी एसोसिएसनको संयुक्त आयोजना भएको कार्यक्रममा बकुलहर रत्ननरका अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले अण्डा एउटा क्याप्सुल जस्तै रहेको बताउनुभयो । अण्डा वितरण गरेर सामाजिक उत्तरादायित्व निर्वाह गरेकोमा उहाँले व्यवसायीलाई धन्यवाद पनि दिनुभयो ।
कार्यक्रम संयोजक, नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष रघुनाथ भट्टले अण्डालाई सामान्य रुपमा हेरेको तर यो बहुउपयोगी रहेको बताउनुभयो । जहाँ अण्डा बढी खपत हुन्छ त्यहाँका मानिसको आयु लामो हुने गरेको अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो । मिसावटरहित पौष्टिक आहार अण्डामा मात्रै भएको उहाँले बताउनुभयो ।
भेटेरिनरी डाक्टर निमेश खनालले विश्व स्वास्थ्य संगठनले नै अण्डालाई सन्तुलित आहारको रुपमा घोषणा गरी १९९६ देखि दिवस मनाउन थालेएको बताउनुभयो । उहाँका अनुसार प्रतिगोठा अण्डाबाट ६ ग्राम प्रोटिन प्राप्त हुन्छ । ६० किलो वजन भएको मान्छेले दैनिक १० वटा अण्डा खाँए अरु आहार लिनुपर्दैन ।
नेपालमा एक जनाले वर्षमा ६१ वटा अण्डा उपभोग गर्ने गरेका छन् । अन्य मुलुकमा प्रतिव्यक्ति १६१ वटा अण्डा खपत हुन्छ । विश्वमा अण्डा खतप गर्नेमा चीनपछि भारत छ ।
अग्रज पोल्ट्री व्यवसायी, नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष ज्ञानबहादुर विसुरालले अण्डा जुनसुकै उमेर तथा विरामीका लागि पनि उपयोगी हुने बताउनुभयो ।
उहाँले सस्तो मूल्यमा प्रोटिन प्राप्त हुने अण्डाको महत्व बुझाउन नसकिएको बताउनुभयो । उहाँका अनुसार बुढ्यौली, हृदयघात रोक्न, आँखाको शक्ति बढाउन, आँखाको मोतियाविन्दु हुनबाट रोक्न, रक्त अल्पताबाट बचाउन अण्डा उपयोगी हुने बताउनुभयो ।
यस्तै हड्डी र दाँत बजबुध बनाउन तथा मानिसलाई फुर्तिलो बनाउन पनि अण्डाको महत्व रहेको विसुरालले बताउनुभयो ।