काठमाडौँ : चाडवाडका समयमा काठमाडौँ उपत्यकामा ड्रोन र तालिमप्राप्त कुकुरबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवार्डका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित थालिएको सुरक्षा निगरानीमा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट समेत गस्ती गरिने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो ।
चाडपर्वहरु बडादशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्तरुपमा उक्त अभियान थालिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरु, मल–मार्टहरु र मुख्य–मुख्य नाकामा आधुनिक प्रविधिका साथै केनाइन कार्यालयबाट तालीमप्राप्त कुकुरबाट जाँच गरिने तथा ३ वटै जिल्लाहरुमा पैदल गस्ती, मोवाइल गस्ती, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसीटिभि, ड्रोनबाट समेत निगरानी गरिने छ ।
तालिमप्राप्त कुकुर तथा प्रविधिसमेतको उच्चतम प्रयोग गरी उपत्यकाको सुरक्षा अवस्था प्रभावकारी बनाउन सुरक्षा चुनौतीका आधारमा प्रहरी जनशक्ति परिचालन गरी उपत्यकामा शान्ति, सुरक्षा, अमयचयन कायम गरिने उहाँको भनाइ छ।
ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापनलगायतमा प्रोएक्टिभ पुलिसिङका माध्यामबाट चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिएको जनाइएको छ ।
यस्तै बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर–गहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सञ्चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाइने, यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिने कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।
उक्त कार्यका लागि ५ हजार ८३३ जना जनपद प्रहरी एक हजार ८०० बढी ट्राफिक प्रहरी गरी उपत्यकामा सात हजार बढी प्रहरी जनशक्ति परिचालिन हुने जनाइएको छ ।