काठमाडौँ । प्रहरी महानिरीक्षक विदेश हुँदाहुँदै निमित्त प्रहरी महानिरीक्षक अर्थात प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई पनि विदेश शयरमा गएका छन्।
उहाँको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित ३ सदस्यीय टोली मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेको हो । प्रहरी नेतृत्व नै यसरी विदेश शयर हुँदा नेपालमा सुरक्षा खतरा बढ्नसक्नेतर्फ ध्यान दिन जरुरी छ ।
अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय संघको सम्मेलनमा सहभागी हुन राई नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
उक्त टोलीमा उहाँको साथमा प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहनुभएको छ । उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिदाई गर्नुभयो ।
इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप मानव बेचबिखनका पीडितको सशक्तिकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुभएको छ ।
यसअघि असोज २० गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित ४ सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको थियो।
बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उहाँहरू जानुभएको हो ।