काठमाडौँ । सरकारले बझाङ भूकम्पको क्षतिको लेखाजोखा तथा प्रभाव मूल्यांकन गरी आवश्यकताको पहिचान, पुनर्निर्माण तथा पुनर्लाभका कार्यक्रमहरु तय गर्न आवश्यक स्रोतको व्यवस्थापन गर्ने भएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तत्कालै तीन तहका सरकारबीचको समन्वयमा एकीकृतरुपमा एकद्वार प्रणालीमार्फत् कार्यक्रम सञ्चालन र व्यवस्थापन गरिने भएको हो ।
त्यसका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई पुनस्थापना र पुनर्लाभको आवश्यक पर्ने नीतिगत सहजीकरण गर्ने र त्यसका लागि नियमावली संशोधनको प्रस्ताव बनाउन निर्देशन दिएको छ ।
उक्त संसोधन प्रस्ताव छिट्टै मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय पनि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदले गरेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकराी दिनुभयो । उक्त परिषदको अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । परिषदको बाह्रौँ बैठक बिहिवार मात्रै बसेको थियो ।
सो बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री दाहालले २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प र त्यसका परकम्पबाट घरवास क्षति भई घरबाहिर बस्न बाध्य प्रभावित नागरिकहरुलाई तीनै तहको समन्वयमा एकीकृत कार्यक्रम बनाएर राहत, पुनर्निर्माण तथा पुनस्थापनालगायतका कार्य गर्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशन बमोजिम आवश्यक कार्य प्रारम्भ भइसकेको परिषद्का सदस्य सचिवसमेत रहनुभएका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार बझाङ भूकम्पबाट गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीको मृत्यु भएको र २७ जना घाइते भएको बताउनुभयो ।
पोखरेलले भूकम्पबाट ३७८ निजी आवास, ७ वटा विद्यालय भवन, २५ वटा सरकारी कार्यालय भवन, एउटा स्वास्थ्य भवन क्षतिग्रस्त भएको पनि जानकारी दिनुभयो । भूकम्पपछि अहिले पनि सो क्षेत्रमा पराकम्पहरु गइरहेको छ । यसैबीच प्रधानमन्त्री दाहाल आज भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न त्यसतर्फ जाँदै हुनुहुन्छ ।