काठमाडौँ । नेपालीहरुले वैदेशिक रोजगारीका नाममा नेपाली ठग्ने क्रम त दैनिक देखिँदै आएको छ । हुँदाहुँदै अब विदेशीहरुले समेत वैदेशिक रोजगारीका लागि भन्दै नेपाली ठग्न थालेका छन् ।
यस्तै घटना हालै सार्वजनकि भएको छ । पाकिस्तानी र अजरबैजनी नागरिकबाट नेपालीहरु ठगिएका फेला परेको छ । उनीहरुले वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाएर नेपालीहरु ठग्ने गरेको फेला परेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पाकिस्तान रावलपिन्डी घर भइ हाल काठमाडौँ २६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहम्मद र काठमाडौँ २६ ठमेल बस्ने अजरबैजनी ३१ वर्षीया आयसेल हुसेनिलले यसरी ठगी गरेको पाइएको बताउनुभयो ।
उनीहरुले मिलेमतोमा वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायतका देशमा पठाइदिन्छु भनि वर्क पर्मिटलगायतका नक्कली कागजातहरू देखाइ विश्वासमा पारेर ठगी गर्ने गरेको पाइएको छ ।
अनुसन्धानमा उनीहरुले भिसा प्रक्रिया गर्नका लागि लाग्ने चार्ज भनेर प्रतिव्यक्ति एक हजार डलर लिने गरेका भेटिएको छ ।
नक्कली अफर लेटर, वर्क पर्मिट, भिसालगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको र अहिलेसम्म यसरी रु ८० लाख ठगी गरेको फेला परेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुले पीडितहरुलाई विश्वास दिलाउनका लागि अजरबैजनमा समेत लगि घुमाएको खुल्न आएको पनि रेग्मीले बताउनुभयो ।
विशेष सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाई ठमेलको होटलबाट नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको रेग्मीले बताउनुभयो ।