काठमाडौँ : सरकारले धार्मिक तथा जातीय सद्भाव खलल पार्ने क्रियाकलाप नगर्न अनुरोध गरेको छ।
मन्त्रिपरिषद्को आज मंगलबारको बैठकले देशका केही स्थानमा धार्मिक तथा जातीय एकता खल्बल्याउने गतिविधि देखिँदै आएको भन्दै यस्ता गतिविधि नगर्न / नगराउन सर्वसाधारणमा आग्रह गरेको छ।
मन्त्रिपरिषद्ले सामाजिक सञ्जालको प्रयोग मर्यादित र सभ्य रूपमा गर्न पनि आग्रह गरेको छ। सामाजिक सञ्जालमा लेखिएको स्टेटसका कारण आज नेपालगञ्जमा नेपाली सेना नै प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
मन्त्रिपरिषदले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभीमान वा राष्ट्रिय हित वा संघीय एकाईबीचको सुसम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न, नगराउन एवं विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैमा नेपाल सरकार अनुरोध गरेको छ।
सामाजिक सञ्जालमा आधारहीन सूचना नराख्न पनि सरकारले अनुरोध गरेको छ। मन्त्रिपरिषद्ले कालोबजारी नियन्त्रणमा सक्रियताका साथ लाग्न सबै निकायलाई निर्देशन दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।