काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएकै दिन अभिनेता अनमोल केसीलाई हिरासतमा राख्ने म्याद सकिन लागेको छ ।
आज अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएको थियो ।
अस्ती ढिला पक्राउ परेका र हिजो विदा परेकाले आज अदालतमा पेश गरिएका उनीमाथि हिरासतमा राख्ने म्याद सकिनै लागेका ले भोलि पुन अदालतमा पेश गर्नुपर्ने हुन्छ ।
शुक्रबार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको साँगाबाट उनलाई पक्राउ गरी आपराधिक विश्वासघात गरेको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले आज तीन दिनको म्याद थप भएको र बिदाका कारण पक्राउ गरेको तीन दिन वित्न लागेकाले भोलि पुन अदालतमा पेश गर्नुपर्ने बताउनुभयो ।
चलचित्र ‘रावायण’मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको थियो ।
सहमतिका लागि बोलाउँदा नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।
उनीसहित चलचित्रका अन्य कलाकारले समेत गरेर निमर्माणपक्षको कुल एक करोड बढी नोक्सानी गरेको निर्माण टिमले दावी गरेको छ । सोही वेहोराको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अभिनेता केसीले भने पैसा फिर्ता गर्न खोज्दा अस्विकार गरेको र आफूले स्क्रीप्ट मन नपरेर प्रोजेक्ट अस्वीकार गरेको बयान दिएका प्रहरीले जनाएको छ ।