काठमाडौँ, १३ असोज : सार्वजनिक सवारी साधनका चालकले लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेको चाल पाउनुभयो ? त्यसो भए के गर्ने । अब त्यसमा तपाईं दोधारमा नपर्नुहोस् ।
तत्काल नजिकका प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहोस्। तत्काल प्रहरीले एक्सन लिने छ ।
चालकले लापसे र मापसे गरेर सवारीसाधन सञ्चालन गर्ने गरेको पाइएपछि उक्त गैरकानुनी कार्य नियन्त्रण गर्न प्रहरीले त्यस्तो थाहा पाएमा जानकारी गराउन सर्वसाधारणमा अनुरोध गरेको हो ।
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट त्यस्ता व्यक्तिले आफ्नो र यात्रुहरुको पनि ज्यान जोखिममा पार्ने भएकाले कारबाहीमा कडाइ गरिएको बताउनुभयो ।
प्रहरीले यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ सेवन र मापदक पदार्थ सेवन गरे नगरेकोबारे निगरानी गर्न पनि अनुरोध गरेको छ ।
प्रहरीले उपत्यकामा गरेको सवारी साधन जाँचका क्रममा दैनिक जसो नै लापसे र मापसे गरेर सवारी चलाउने चालकहरु फेला पार्दै आएको छ । यो क्रम चाडवाडका बेलामा झन् बढ्ने भएकाले निगरान िबढाइएको उहाँले बताउनुभयो ।
शुक्रबार पनि ट्राफिक प्रहरीको लापसे जाँचका क्रममा ३ जना चालक नियन्त्रणमा लिएर कारबाही थालेको छ ।
काठमाडौँको थलीमा गरिएको परीक्षणमा बा ३ ख ४० ३६ नम्बरको बस चालक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ का २३ वर्षीय विक्रम तामाङ, बा २ ज ५६ ३९ नम्बरको ट्याक्सी चालक सिन्धुलीको सुनकोशी गाउँपालिका २ का २५ वर्षीय सुरज श्रेष्ठ र बा २ ज ३८ ७६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ८ का ४३ वर्षीय उमानाथ चौलागाँईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरोसहित प्रहरी टोलीले उक्त अभियान जारी राखेको छ ।