काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका २२ बुङमती क्षेत्रमा रहेका ईट्टा उद्योगका झण्डै एक सय जना मजदुरलाई सीप सिकाएर रोजगारीमा लगाइएको छ ।
ईट्टा उद्योग नचल्ने समयमा रोजगारीको अभावमा उनीहरुको दैनिकीमै समस्या हुने गरेकाले अफ सिजनमा पनि आयआर्जन गर्न सकोस् भन्ने उद्देश्यले उनीहरुलाई सीप सिकाएर रोजगारी प्रदान गरिएको हो ।
स्थानीय पालिकासँगको सहकार्यमा ईट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशिल विकास परियोजनामार्फत यस क्षेत्रका १५४ जना मजदुरलाई टेलरिङ, ड्राइभिङ, इलेक्ट्रिसियन, मोटससाइकल मर्मतलगायतका सीप दिएर प्रशिक्षित गराइएको हो ।
स्थानीय पालिकासँगको सहकार्यमा बाल विकास समाज र वल्र्ड भिजन ईन्टरनेशनल नेपालले उक्त कार्यक्रममार्फत मजदुरलाई रोजगारीमा आबद्ध गराएको समाजका कार्यक्रम व्यवस्थापक प्रदिपकुमार श्रेष्ठले बताउनुभयो ।
तलिम दिएमा मध्ये अनुगमनमा हाल ९० जना कार्यरत रहेका पाइएको छ । उक्त परियोजनामार्फत स्वास्थ्य बीमा कार्यक्रममा ४६७ परिवारका एक हजार २८९ जनालाई आबद्ध गराइएको पनि उहाँले जानकारी दिनुभयो ।
ईट्टा उद्योग नचल्ने समयमा आर्थिक साक्षरतासम्बन्धी एक हजार ४३३ जनालाई अभिमुखिकरण गरी ४८२ जनाको बैँक खाता पनि सञ्चालन गराइएको छ ।
बालकोषमार्फत चन्द्रागिरि नगरपालिकामा ७६ र बुङ्मतीका ३ जनालाई सहयोग पनि गरिएको छ । बलअधिकार समितिको सक्रियतामा ४२ जना बालश्रमिकलाई परिवार पुनस्र्थापना, विद्यालय सहयोग र परिवारलाई आयआर्जनमा सहयोग गरिएको समाजका फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार १ हजार ७१२ जना बालबालिकाले विद्यालय सहयोग पाइ ८०.७ प्रतिशत बालबालिका विद्यालय नियमित गएका समेत पाइएको छ।
तीन हजार बढीलाई स्वास्थ्य परीक्षण गरी औषधी समेत उपलब्ध गराएको र कार्यक्रममा प्रत्यक्ष रुपमा १५ हजार बढी लाभान्वित भएका जनाइएको छ । सोही परियोजना अन्तरगत बालश्रम मुक्त अभियान पनि चलाइएको थियो ।
सो अभियानका क्रममा हाल चन्द्रागिरी नगरपालिकाको दुई वटा वडा बालश्रम मुक्त भइरहेको र आउँदो वर्षमा चन्द्रागिरिलाई नै बालश्रम मुक्त बनाउने योजना रहेको नगर प्रमुख घनश्याम गिरिले बताउनुभयो ।