काठमाडौँ ७ असोज : काठमाडौँको चन्द्रागिरी नगरपालिका र ललितपुर महानगर पालिका २२ स्थित बुङमतीमा रहेका ईट्टा भट्टाहरुलाई बालश्रम मुक्त बनाउन लागिएको छ । परियोजना नै सञ्चालन भएपछि त्यस क्षेत्रमा ठूलो प्रगति भएको छ ।
मुख्यतया ईंट्टा भट्टा होटल, यातायात क्षेत्र तथा कृषि कर्ममा प्रयोग भएका तथा घरेलु कामदारका रुपमा राखिएका बालश्रमिको खोजी गरी पुनस्थापनका कामलाई तिब्र पारिएको छ ।
उनीहरुलाई स्कुलमा पठाउने, घर फर्काउने तथा विभिन्न सीपमुलक कार्यक्रमहरु आयोजना गरी बालश्रमिक हटाउने अभियानमा पालिका लागि परेको छ ।
बाल विकास समाज, वल्ड भिजन इन्टरनेशनल नेपाललगायत विभिन्न संघसंस्था र स्थानीय समूह एवं बाल क्लबको संयोजन तथा सहकार्यमा उक्त अभियान चलाइएको र त्यसबाट धेरै प्रगति भएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताउनुभयो ।
आज ललितपुरमा ईंट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशिल विकास परियोजनाको उपलब्धिका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले ति बालबालिकाहरुलाई पहिचान गरी बालश्रम मुक्त बनाउन थालिएको जानकारी दिनुभयो ।
उक्त परियोजना चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका २२ बुङमती क्षेत्रमा लागू गरिएको छ । चन्द्रागिरि नगरपालिकाका पुर्वउपप्रमुख लिशा नकर्मीले पछिल्लो पाँच वर्षमा बालअधिकारका क्षेत्रमा चन्द्रागिरिमा ठूलो काम भएको बताउनुभयो ।
उहाँले विगतमा पुर्वाधारमा बढी केन्द्रित भएकाले अब भने समाज सुधार तथा सामाजिक कामलाई प्राथमिकतामा राखेर शुसासन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा राष्ट्रिय बाल अधिकार परिषद्का सदयसचिव इन्द्रादेवी ढकालले बालश्रम अन्त्य गर्न नेपाललले प्रतिबद्धता जनाइसकेकाले चुनौतीपूर्ण रहे पनि सबैको सहयोग भएमा सफल हुने बताउनुभयो ।
उहाँले केही बालबालिकाहरु रहरले र धेरैजसो बाध्यतामा बालश्रम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले ईट्टा भट्टा र होटर, रेष्टुरेन्टमा धेरै बालश्रम रहेको बताउनुभयो ।
काठमाडौँ ईंटा उद्योग व्यवसायी संघका अध्यक्ष केदार गोसाईंले उद्योगहरुमा पछिल्लो समयमा बालश्रम मुक्त हुँदै आएको र अब त्यस्ता व्यक्तिहरुको जीवनयापनमा सुधार ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको पाँच प्रदशेमा ईंट्टा उद्योग रहेको र ती प्रदेहरुमा आर्थिक मन्दीका कारण उद्योगहरु घट्दो क्रममा रहेको बताउनुभयो ।
उहाँले नेपालमा एक हजार २०० ईँटा उद्योग रहेकामा घटेर अहिले ६०० मा झरिसकेको बताउनुभयो । सभागिहरुले बालश्रम मुक्त गर्न स्थानीय तहले भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
समारोहमा बालविकास समाजका कार्यक्रम व्यवस्थापक प्रदिपकुमार श्रेष्ठले इट्टा उद्योग भित्रको बालश्रमको अबस्था र परियोजनाले पारेको प्रभावका विषयमा जानकारी गराउनुभएको थियो । पछिल्लो समयमा चन्द्रागिरी नगरपालिकाले विभिन्न वडालाई बालश्रम मुक्त बनाउँदै लगेको छ ।