काठमाडौं, ६ असोज : काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङगलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ ।
गएराति विद्युत सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामानहरू जलेर करिब रु ९३ लाख २० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी गएराती नै काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय ईन्द्र नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
३८ लाख बढी चोरी
प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका–३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठाबाट नगद सहित गरगहना चोरी भएको छ ।
कोठामा कोही नभएको अवस्थामा ताला फुटाई सुनका गरगहना र नगद समेत गरी करिब १ लाख १४ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
यस्तै चन्द्रागिरी नगरपालिका–१४ नैकाप प्रगति संगम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, विदेशी मुद्रा, नेपाली रुपैयाँसमेत गरी करिब रु ३७ लाख ४५ हजार १५० रूपैयाँ बराबरको धनमाल चोरी भएको डिएसपी अधिकारीले बताउनुभयो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।