काठमाडौँ ४ असोज । नवौँ संविधान दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को आयोजनामा काठमाडौँमा लोकतन्त्र र संविधान विषयमा रहेर पोष्टरकला प्रतियोगिता आयोजना गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला क्षेत्रका विद्यार्थीलाई लोकतन्त्र र संविधानका विषयबारे जानकारी दिने उद्देश्यले संविधान दिवसको अवसरमा संविधान कै विषयमा केन्द्रित गरेर पोस्टर कला प्रतियोगितामा आयोजना गरिएको जानकारी दिनुभयो ।
“विद्यार्थीले किताबी ज्ञान मात्रै लिँदा व्यावहारिक ज्ञान नलिनसक्छन्, त्यसैले नेपालको संविधान, लोकतन्त्रलगायत राजनीतिक विषय पनि बुझ्न जरुरी हुन्छ”, कुलपति हार्तम्छालीले भन्नुभयो, “त्यसैले विद्यार्थीका लागि यो प्रतिस्पर्धा गराइएको हो ।”
यसबाट उनीहरूले कलामा समसामयिक विषय थपेर थप परिष्कृत गर्नसक्छन् भन्ने विश्वासका साथ कार्यक्रम गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा विभिन्न विद्यालयका १८ विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा अञ्जली घिमिरे पहिलो, होमराज कुलुङ दोस्रो, रुजन महर्जन तेस्रो तथा प्रतिभा खड्का र लिस्मा ताम्राकारले सात्वना पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरूलाई क्रमशः रु १५ हजार, रु १२ हजार, रु १० हजार र रु आठ÷आठ हजार पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई बुधबार पुरस्कार प्रदान गरिएको थियो ।
उनीहरूले बनाएका पोष्टर कला प्रतिष्ठानको कार्यालय नक्सालमा प्रदर्शनसमेत गरिएको छ । उक्त समारोहमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अहिले नेपालीका लागि स्वतन्त्रता प्राप्त हुनका लागि विगतमा ठूलो योगदान रहेको र आजको दिनलाई उल्लासमय बनाउनका लागि कला प्रतियोगिता र प्रदर्शन गरिएको बताउनुभयो ।
संविधान दिवसकै अवसरमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली, अग्रज कलाकार राधेश्याम मुल्मी, कार्यक्रम संयोजक सौरगङ्गा दर्शनधारीलगायतले संविधान दिवस र कला सिर्जनाको सम्बन्धका विषयमा जानकारी गराउनुभएको थियो ।