काठमाडौँ ४ असाेज । आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ लाई एक भव्य समारोहका बीच बालश्रम मुक्त भएको घोषणा गरिएको छ।
उक्त वडा भित्र फेला परेका १८ जना बालबालिका मध्ये केहीलाई स्कुल भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी आज बालश्रम मुक्त घोषणा गरिएको वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए।
बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० वटा सूचकहरू पार गर्नुपर्छ। यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अब वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने प्रतिबद्धता जनाए। बालमैत्री बनाउनका लागि विभिन्न ५१ वटा सूचकहरू पुरा गर्नुपर्ने हुन्छ।
बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्ड भिजन इन्टरनेशनल नेपालले आवश्यक सहयोग, सचेतनामुलक कार्यक्रम तथा तामिल प्रदान गरेको थियो। समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले पालिकाहरूको सामाजिक विकास तथा शुसासनका काममा संस्थाले आवश्यक सहयोग गर्दै आएको र यस वडालाई बालश्रम मुक्त बनाउन आवश्यक सहकार्य गरिएको बताए।
आज बालश्रम मुक्त वडा घोषणा गर्नु अघि उक्त वडाको मुख्य बजार थानकोटमा विभिन्न भेषभुषासहितको झाँकी तथा बाजागाजासहित र्याली निकालिएको थियो। विभिन्न स्कुल तथा महिला समूह र जातजातिका प्रतिनिधिहरूको सहभागितामा प्लेकार्डसहित र्याली निकालिएको थियो।
यो सँगै चन्दागिरिका दुई वटा वडा बालश्रम मुक्त भएका छन्। यसअघि गत वर्ष वडा नबर १४ लाई बालश्रम मुक्त घोषणा गरिएको थियो। आजको घोषणासभामा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र नगरपालिकालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियानमा रहेको बताए।
उनले आगामी २०८१ सालको चैतसम्ममा उक्त घोषणा भइसक्ने पनि जानकारी दिए। उक्त पालिकामा १५ वटा वडा रहेका छन्।